नेकपामा सभामुखको अड्चन

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको टुङ्गो नलगाएपछि शुक्रवारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठकमा सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने सम्भावित कार्यसूची थियो । नेकपाले उम्मेदवारकै टुङ्गो नलगाएपछि निर्वाचन कार्यतालिकाका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रवारै उप–सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने र प्रतिनिधिसभा बैठकको अध्यक्षता प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले गर्ने तयारी भनिए पनि बैठक उप–सभामुख तुम्बाहाङ्फेको राजीनामा पनि आएको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख पदमा नेकपाले आफ्नो दाबेदारीका लागि उप–सभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाएको छ । तर, सभामुख पदमा कसैको पनि नाम टुङ्गो नलागेका कारण उप–सभामुख तुम्बाहाङ्फेले राजीनामा बुझाएकी छैनन् । नेकपा सचिवालयले सभामुखको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । बिहीवार सभामुखको उम्मेदवार टुङ्गो लगाउने भनिए पनि अध्यक्ष प्रचण्ड चितवन गएकाले छलफल हुन पाएन । प्रचण्डमाथि पूर्वमाओवादीबाट सभामुख पद छोड्न नहुने दबाब छ । त्यसो हुँदा नेता अग्नि सापकोटालाई बलियो दाबेदारका रूपमा हेरिएकोछ । अध्यक्ष ओलीसहितका पूर्व एमालेहरू भने पार्टी एकीकरणपछि पनि भागवण्डा खोज्न नहुने भन्दै संसदीय प्रक्रियाका अनुभवी सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडानमा छन् । अबको बैठक तुम्बाहाङ्फेले नै सञ्चालन गर्दा उप–सभामुख पद रिक्त नरहने भएकाले संविधानअनुसार नेकपाले सभामुखका लागि उम्मेदवारी दिन मिल्दैन ।

त्यसैले बैठक अघि उप–सभामुख
तुम्बाहाङ्फे राजीनामा गर्ने तयारीमा छिन् । तुम्बाहाङ्फे भने सभामुख बन्ने दौडबाट पछि हटेको उनी निकट स्रोतको भनाइ छ । ‘उप–सभामुखज्यूले सभामुख चुनावका लागि मार्गप्रशस्त गरिदिन्छु भनिसक्नुभएको छ, उहाँ संसद्को आउँदो बैठक अघि नै राजीनामा दिने सोचमा हुनुहुन्छ,’ तुम्बाहाङ्फे निकट स्रोतले भन्यो, ‘तर त्यसका लागि अध्यक्षहरूकै सहमति हुनुपर्छ, संसद्लाई एक दिन भए पनि नेतृत्वविहीन नबनाऔं भन्ने उहाँको कुरा हो ।’ दुई अध्यक्षबीच नै कुरा नमिलेपछि सभामुख चयनको विषय फेरि नेकपा सचिवालयमा प्रवेश हुने र त्यहीबाट निर्णय हुने एक सचिवालय सदस्यले बताए । ‘त्यसका लागि शनिवार या आइतवार सचिवालय बैठक बस्दै छ,’ उनले भने, ‘पार्टी विधिमा चल्नलाई कमिटीमा पनि छलफल हुनुपर्छ भन्ने हाम्रो कुरा हो । अध्यक्षहरू पनि सहमत हुनुहुन्छ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यसअघि कतिपय विषयमा संसद् र सरकारबीच समन्वय हुन नसकेको भन्दै यसपाली सभामुख आफूलाई साथ दिने नेतालाई बनाउनुपर्ने अडान राखेका छन् । त्यसका लागि उनले पूर्वसभामुख एवम् संविधानसभा अध्यक्ष नेम्वाङलाई छनोट गरेको बालुवाटार निकट स्रोतहरूको भनाइ छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले सरकारका कतिपय काम र निर्णयमा असहयोग गरेको भन्दै ओलीले सार्वजनिक रूपमै आलोचना गर्दै आएका थिए । उनले अघिल्लो संसद् अधिवेशनका बेला नेकपा संसदीय दलको बैठक र संसदीय समितिका सभापतिहरूसँगको छलफलमा पनि संसद्ले सरकारलाई सहयोग नगरेकाले केही निर्णय गर्नसमेत अप्ठ्यारो परेको बताएका थिए । ‘नेकपा स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीज्यू झन् झस्किनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेताहरूले गरेका टीकाटिप्पणी संसद् नपुगोस् भनेर राम्रोसँग ट्याकल गर्ने नेतालाई उहाँ सभामुख बनाउन खोज्दै हुनुहुन्छ ।’ नेकपाका अर्का अध्यक्ष दाहालसमेत एमसीसी इन्डो–प्यासिफिक रणनीति हो या होइन भन्ने विषय अमेरिकाबाटै प्रष्ट हुनुपर्ने पक्षमा भएकाले ओलीले आफूअनुकूल नेतालाई नै सभामुख बनाउन चाहेका हुन्  ।

नेम्वाङले आफूलाई ओली र दाहालले सभामुख बन्न प्रस्ताव गरेको बताएका छन् । ‘दुवै अध्यक्षले तपाईं सभामुख बन्नुस् भन्नुभएकै छ, यसअघि म सभामुख बन्दिनँ भन्दा पनि उहाँहरूले त्योबारे सार्वजनिक अभिव्यक्ति नदिनुस् भन्नुभएकै थियो,’ उनले भने, ‘यो व्यक्तिगतभन्दा पनि पार्टीको निर्णयको कुरा हो  ।’ तर सभामुख को बन्छ भन्ने स्पष्ट भइनसकेको उनले बताए । अध्यक्ष दाहाललाई भने पुरानो समीकरण अनुसार नै जानुपर्ने भन्दै पूर्व एमाओवादी नेताहरूले दबाब दिँदै आएका छन् ।

प्रकाशित मितिः   १२ पुष २०७६, शनिबार ०८:१७