कांग्रेसको महाधिवेशन अर्को वर्ष

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन् । चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि शुक्रवार बसेको केन्द्रीय समिति बैठकबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन् । विधानमै भएको व्यवस्था अनुसार सभापति देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल २०७७ फागुन १९ सम्म थपेका हुन् । महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर कार्यकाल एक वर्ष थपिएको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् ।

वरिष्ठ नेता पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग गर्दै मंसिर २६ गतेदेखि निरन्तर छ वटा केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षका केन्द्रीय सदस्य मात्र सहभागी रहेको केन्द्रीय समिति बैठक चलिरहँदा पौडेल पक्षका केन्द्रीय सदस्यहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल गरिराखेका थिए । पौडेल पक्षले अर्को वर्ष मंसिर पहिलो साता महाधिवेशन गर्ने गरी सभापतिले कार्यतालिका ल्याउनुपर्ने अडान राखेका थिए । बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य पनि उपस्थित थिएनन् । सिटौलाले बहुमत र बहिष्कारको खेलले पार्टीलाई क्षति पु¥याउने बताउँदै आएका छन् ।

पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय समितिले सभापति देउवाले गरेको प्रस्तावअनुसार नै भ्रातृ संस्था नेपाल तरूण दलको म्याद छ महिना थप्ने निर्णय पनि गरेको छ । जितजंग बस्नेत नेतृत्वको तरूण दलको म्याद गत कात्तिकमा सकिएको थियो । ९५ सदस्यीय हुनुपर्ने तरूण दल केन्द्रीय समितिमा चार जना मात्रै छन् । शुक्रवारकै केन्द्रीय समितिले २८ विभागलाई बढाएर ४१ पु¥याउने निर्णय गरे पनि विभागलाई पूर्णता भने दिएको छैन । साथै बैठकले पार्टीका सबै निकायमा पुस महिनाभित्रै अन्तरिम संरचना गठन गरिसक्न निर्देशन दिएको छ । केन्द्रदेखि वडासम्म कांग्रेसमा नयाँ विधानअनुसार आठ निकाय छ । बैठकले नेविसंघबारे भने कुनै निर्णय गरेको छैन । सभापति देउवाले मंसिर २६ गते नेविसंघलाई नेतृत्व दिने प्रस्ताव पनि केन्द्रीय समितिमा छलफलका लागि पेश गरेका थिए । सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच नेविसंघ नेतृत्व कसले लिने भन्नेमा विवाद छ ।

प्रकाशित मितिः   १२ पुष २०७६, शनिबार ०८:१४