मानवअधिकारमैत्री कानुन निर्माणमा जोड

सुर्खेत : मानवअधिरकारमैत्री कानुन निर्माणमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शुक्रवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश तथा यूएस्एआईडीको आयोजनामा गरिएको नागरिक तथा राजनीतिक र आर्थिक सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी कार्यशाला गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेत्रहिन संघ सुर्खेतकी सोमना खड्काले मानवअधिकारमैत्री कानुन निर्माण गर्नुपर्र्ने बताइन् । उनले अपाङ्गता भएकाहरूको समेत मानवअधिकारलाई ख्याल गरी कानुन निर्माण गर्नुपर्ने धारणा राखेकी थिइन् । उनले भनिन् ‘संविधानको मौलिक हकमा भएको व्यवस्था अनुसार अपाङ्गता भएकाहरूले शिक्षा ग्रहण गर्न पाएका छैनन् ।’ त्यस्तै निलहिरा समाज सुर्खेतकी अञ्जली बिसीले यौनिक अल्पसंख्यकहरूले आफ्नो यौनिकता लुकाएर हिँड्नुपर्ने बाध्यता भएको बताइन् । उनले आफूहरूलाई समाजमा सहज रूपमा बाँच्ने वातावरण नभएको गुनासो गरिन् । यसको लागि समेत कानुन निर्माण भइ कार्यान्वयन भएको खण्डमा मानवअधिकारको प्रत्याभूति भएको अनुभव हुने उनले बताइन् । कार्यक्रममा सहभागी अधिकांशले कानुन निर्माण गर्ने क्रममा जनप्रतिनिधिहरूले समेत मानवअधिकारलाई ध्यानमा राखी गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीले सबै वर्ग र समुदायलाई मानवअधिकारको प्रत्याभूति हुने गरी कानुन निर्माण गर्नुपर्ने बताइन् । राउटेले अझैसम्म पनि मौलिक हकको प्रयोग गर्न नपाएको उनले बताइन् । त्यस्तै सांसद अम्मरबहादुर थापाले समेत राउटे नेपालको नागरिक अझै हुन नसकेको बताए । केही संस्थाहरूले भजाएर खाने माध्यम राउटे भए पनि उनीहरूको निजी जीवन भने निकै कष्टकर भएको उनले बताए । कर्णाली प्रदेशकी उप–सभामुख पुष्पा घर्तीले भौतिक पूर्वाधारको विकास मात्रै नभइ जनताका अन्य आवश्यकताहरू पूरा गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले कर्णालीमा सामाजिक समस्या पनि भएकोले यस्ता कुरामा समेत सरकारले ध्यान दिनुपर्नेमा जोड दिएकी हुन् । कर्णालीमा मानवअधिकारको अवस्था विषयमा इन्सेकका सम्झा श्रेष्ठ र नारायण सुवेदीले जानकारी दिए ।