सुल्झिएन कांग्रेसभित्रको विवाद


काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अझै जटिल बन्दै गएको छ । सहमतिका लागि भन्दै केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित भइसकेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विभाग गठन, महाधिवेशन कार्यतालिका र भ्रातृसंस्थाको विषयमा सहमति नहुँदा बैठक बस्न सकेको छैन । पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार नै गर्दै आइरहेको छ । पौडेल पक्षले बैठक बहिस्कार गरिरहेपछि सभापति देउवाले पौडेललाई फकाउने प्रयास जारी राखेका छन् । दुवै पक्षबाट वार्ता टोलीसमेत गठन गरिएको छ ।

गत मंसिर २६ गते बिहीवार कांग्रेसको केन्द्रीय समितिको बैठक डाँकिएको थियो । उक्त बैठक वरिष्ठ नेता पौडेल पक्षले बहिस्कार गरेपछि सभापतिले एजेण्डा प्रस्तुत गर्न सकेनन् । सभापति देउवाले भएका २८ विभागलाई चलायमान बनाउन नसकिरहेको बेला बढाएर ४१ विभाग बनाउने लगायतका एजेण्डा प्रस्तुत गरे पनि छलफलका लागि बैठक चलाएनन् । त्यसपछि पनि बैठक आह्वान गरेर फेरि सहमतिको लागि छलफल गर्ने भन्दै स्थगित गर्ने गरिएको छ । पछिल्लो समय एक हप्ता बैठक स्थगित गरेर पुस १० गतेलाई डाँकिएको बैठक पनि सूर्य ग्रहणलाई बाहना बनाउँदै ११ गतेलाई सारिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका गतिविधिलाई खबरदारी गर्नुपर्ने हो तर, कांग्रेसलाई आन्तरिक द्वन्द्व मिलाउन नै फुर्सद छैन । २६ गतेको पहिलो बैठक बहिस्कार गरेपछि भोलिपल्ट देउवा विमलेन्द्र निधिलाई साथमै लिएर पौडेल निवास बोहोराटार हाइट पुगे । आफ्नै निवास आएका सभापति र उपसभापतिलाई पौडेलले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने र विभाग गठन लगायतको पुरानै अडान दोहो¥याएपछि छलफलले निचोड निकालेन ।

देउवाले विभाग गठनको काम सकेपछि महाधिवेशन कार्यतालिका ल्याउने प्रतिबद्धता गरे पनि पौडेलले अडान छोडेनन् । बरु पार्टीको बैठक छोडेर पौडेल परिवारको साथ पाथीभरा दर्शनमा गए । दुवै पक्षका नेताहरूबीच भद्र सहमति भएको बताए पनि देउवा र पौडेलबीच सहमति नभइ समाधान नहुने नेताहरू बताउँछन् ।

प्रकाशित मितिः   ११ पुष २०७६, शुक्रबार ०९:०३