नेपाली समालोचनाको एक अतुलनीय प्राप्ती

bharat
भरत रोदन साउद

समालोचना आफैंमा एक प्राज्ञिक जटिलताले भरिएको काम हो । त्यसैमा पनि समालोचनाको समालोचना त झन् उच्च बौद्धिक अभ्यास विना अत्यन्तै जोखिमपूर्ण र कठिन काम नै हो । यस संक्षिप्त आलेखमा भने कुनै समालोचना कृतिको प्राज्ञिक मूल्याङ्कनको दुस्साहस गरिएको छैन बरु बालकृष्ण समबारे तानाशर्माले गरेको कालजयी समालोचना कृतिप्रति आजका आम पाठकको चासो जगाउने प्रयोजनले परिचयात्मक टिप्पणी प्रस्तुत गर्ने उद्देश्य मात्र राखिएको छ । दार्शनिक गहनतामा डुबेर साहित्य लेख्ने साहित्यकार बालकृष्ण सम र उनका गुरु गम्भीर कृतिहरूमाथि समालोचक ताना शर्माले गरेका विश्लेषणात्मक जीवनीपरक समालोचनाको पुस्तक हो सम र समका कृति (२०२९) । आलोचनात्मक तथा व्याख्यात्मक प्रस्तुति रहेको उल्लेखित पुस्तकलाई साझा प्रकाशनले १० ग्रन्थ प्रकाशित गर्ने योजना अन्तर्गत शर्माले समलाई रोजेको कुरा ताना शर्मा स्वयम्ले साझा प्रकाशनबाट लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समका कृतिहरूमा तीन ग्रन्थ गरी जम्मा १० ग्रन्थ तयार पारी छाप्ने योजना रहेकोमा ताना शर्माले बालकृष्ण समलाई रोजेर यो कृति तयार पारेका हुन् भन्ने यसै पुस्तकको अन्तिम परिच्छेद ‘रहल पहलका कुरा’ मा व्यक्त गरेका छन् ।
१० अध्याय र दुई परिशिष्टीय खण्ड गरी जम्मा १२ वटा भागमा विभाजित सम र समका कृतिमा बालकृष्ण समका जीवनीका अनेक घटनाक्रमको वर्णन गर्दै २०२८ सालसम्मको समयसीमा समेटिएको छ । पहिलो खण्डमा जीवनी, दोस्रोमा ‘कृतिहरू र व्यक्तित्व’, तेस्रो अध्यायमा समका कथाहरूलाई ‘कथा’ शीर्षकमा विवेचना गरिएको छ । चौथो अध्याय ‘कविता’ शीर्षकमा बालकृष्ण समका कविताहरूको विश्लेषण गरिएको छ भने पाँचौं अध्याय ‘दुई लामा कविता’ शीर्षकमा समका ‘आगो र पानी’ र ‘चिसो चुल्हो’ दुई गद्यवितात्मक महाकाव्यहरूको विश्लेषण गरिएको छ । छैठौं अध्यायमा ‘नाटक’ शीर्षकमा पाश्चात्य वियोगान्त नाटक परम्पराको चिनारी गराउँदै शेक्सपियरका वियोगान्त नाटक र इव्सनेली सामाजिक यथार्थवादी नाटकहरूको प्रभाव सममा पनि रहेको धारणा प्रस्तुत गरिएको छ । सातौं अध्याय ‘केही वियोगान्त नाटक’ शीर्षकमा ‘मुटुको व्यथा’ अन्धवेग र ‘प्रेमपीण्ड’ तीन वियोगान्त नाटकहरूको विश्लेषण गरिएको छ । ‘केही संयोगान्त नाटक’ शीर्षकको आठौं अध्यायमा ‘मुकुन्द इन्दिरा’ र ‘म’ नाटकको विश्लेषण गरिएको छ । नवौं अध्यायमा ताना शर्माले बालकृष्ण समका पौराणिक विषय र ऐतिहासिक विषयमा आधारित नाटकहरूको व्याख्या र विश्लेषण गरेका छन् । दशौं अध्याय ‘केही समस्यामूलक र मनोविश्लेषणात्मक नाटक’ शीर्षकमा ‘बुहार्तन, अमिट वासना, बोक्सी, तलमाथि, बिरामी र कुरुवा, तमोभूमि र अत्याधुनिकता’ जस्ता सामाजिक, मनोवैज्ञानिक, राजनैतिक र वैयक्तिक समस्यामा केन्द्रित नाटकहरूको विश्लेषण गरिएको छ । एघारौं र बाह्रौं खण्डलाई परिशिष्टीय खण्डका रूपमा क्रमश क र ख गरी प्रस्तुत गरिएको छ । परिशिष्टीय खण्ड क मा ‘रहलपहलका कुरा’ अन्तर्गत पुस्तक रचना गर्ने सन्दर्भमा केन्द्रित लेखकीय विचारहरू प्रस्तुत गरिएका छन् भने परिशिष्टीय खण्ड ख मा ‘रचनाहरूको सूची’ अन्तर्गत समका पुस्तकाकार तथा फुटकर पत्र–पत्रिकामा छरिएर रहेका वि.सं. २०२७ सम्मका रचनाहरूको सूची दिइएको छ ।
बालकृष्ण समको जन्म र घरायसी वातावरणका साथै शिक्षा–दिक्षाको वर्णन पहिलो खण्डमा गरिएको छ । यस क्रममा बालकृष्ण सम राणा परिवारमा जन्मेर पनि जनतासँग हातेमालो गर्दै साहित्य सेवामा लागेका र उनले आफ्ना जीवनमा गरेका महŒवपूर्ण कार्यको विवरण समेत दिइएको छ । यस अध्यायमा बालकृष्ण समको व्यक्तित्वको चिनारी गराइएको छ । दोस्रो अध्यायमा नेपाली साहित्यका सर्वश्रेष्ठ नाटककार बालकृष्ण सम प्रारम्भिक अवस्थामा ईश्वरवादी, बीचको अवस्थामा मानवतावादी र अन्तिम अवस्थामा ब्रह्मवादी भएको तथ्यलाई औंल्याउँदै ताना शर्माले समका दार्शनिक विचारको गतिमयता नै साहित्यिक व्यक्तित्व रहेको यथार्थलाई छर्लङ्ग्याएका छन् । वस्तुतः यस अध्यायमा बालकृष्ण समको साहित्यिक व्यक्तित्व नेपाली साहित्यमा अरू दुई महारथी लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटासँग तुलना गरी पृथक देखाउने काम भएको छ । ताना शर्माले लेखनाथ पौड्याललाई संस्कृत छन्दमा लेख्ने वेदवादी दर्शनका अनुयायी र परम्परावादी तथा देवकोटालाई प्रतिभाका किरणहरू निस्फिक्री बग्रेल्लै छरी हिँड्ने कल्पनावादी र स्वच्छन्दतावादी तथा समलाई अनुशासित पाराले आयोजनाबद्ध रचनाहरूको निर्माण गर्ने कुशल कलाकार र बुद्धिवादी लेखक भनेका छन् । धेरै विधामा छरिएर रहेको समको लेखकीय प्रतिभालाई शर्माले विवेचना गरेका छन् । नाटकमा गरिएका नौला प्रयोग र दार्शनिक काव्यात्मक अभिव्यक्ति तथा उनका कविता र कथामा अन्तर्निहित मनोवैज्ञानिक विश्लेषण र बौद्धिक कोमलताका साथै उनका निबन्ध, प्रबन्ध र आत्मकथामा रहेको रोचकता र स्पष्टताले नै समको व्यक्तित्व मुखरित भएको कुरा बालकृष्ण समका प्रकाशित र अप्रकाशित कृतिहरूको अध्ययनबाट शर्माले प्राप्त गरेका छन् ।
समका कथाहरूलाई ताना शर्माले प्रतिकात्मक, मनोविश्लेषणात्मक र सामाजिक समस्यामूलक गरी तीन भागमा वर्गीकरण गरेका छन्ः ‘देउरालीः’ ‘यौवन र सुन्दरता’, ‘खुकुरी’ तथा ‘कैकेयी’ उहाँका प्रतिकात्मक कथा हुन् भने ‘हरिसिद्ध’, ‘टाँडन घोडा’, ‘नौली’ र ‘तलतल’ चाहिँ मनोविश्लेषणात्मक सुक्ष्म अध्ययन गर्ने कथा हुन् अनि ‘फुकेको बन्धन’ समस्यामूलक कथा हो भने ‘पराइ घर’, ‘शरण’ र ‘रूपको मूल्य’ सामाजिक समस्यालाई कारुणिक शैलीमा प्रस्तुत गर्ने कथा हुन् भन्ने शर्माको ठम्याइ रहेको छ । वस्तुतः ताना शर्माले कथाकार बालकृष्ण समका कथाहरूको विश्लेषण गरेर मनोविश्लेषण र बौद्धिक कथाकारका रूपमा प्रतिष्ठापन गरेका छन् । साथै उनका कथामा रहेको यथार्थलाई व्याख्या गरेका छन् । शर्माको यो मूल्याङ्कन बालकृण समका हकमा आजसम्म अकाट्य रहेको छ ।
नेपाली साहित्यमा गद्य कविताको प्रारम्भका प्रेरणा स्रोत नै ताना शर्माले समलाई मानेका छन् । साथै कवितामा रहेको छन्दको बन्धनलाई प्रथमतः बालकृष्ण समले नै तोडेका हुन् भन्ने उनको दाबी रहेको छ । समका दार्शनिक विचार ‘इच्छा’ कविता ताकको सम ईश्वरवादी, ‘स्वर्ग र देवता’ कविता ताकमा सम उदार मानवतावादी देखिन्छन् भने ‘शून्य’ कविताका सम ब्रह्मवादी देखिन्छन् भन्ने ठम्याएर शर्माले यस पुस्तकमा उनको विश्लेषण क्षमता स्पष्ट्याएका छन् । समका कविताहरू स्वतःस्पूmर्त अभिव्यक्त नभएर सायास बुद्धिसाध्य रूपमा सिर्जिएका भन्ने पनि शर्माको ठम्याइ रहेको पाइन्छ । साथै समका कविताहरूमा लेखनाथ पौड्यालका कवितामा पाइने लय, देवकोटाका कवितामा पाइने हृदयसंवेद्यता, गोपालप्रसाद रिमालका कवितामा पाइने, सरलता र तीक्ष्णता भेटिदैंनन् र उनका कविताहरू उपदेशात्मक, तर्कपूर्ण र कृत्रिम छन् भनिएको छ ।
शर्माले लाई खण्डकाव्य र महाकाव्य नभनेर ‘लामा कविता’ भनेका छन् । ‘आगो र पानी’ कविताको विश्लेषण गर्दै ताना शर्माले नेपाली साहित्यमा लामो कविताको अद्वितीय नमुनाका भनेका छन् । विषयवस्तुको वैज्ञानिकता, अभिव्यक्तिको इमान्दारी तथा लक्ष्यको प्रगतिशीलताको हेराइले ‘आगो र पानी’ नेपाली साहित्यको अद्वितीय उपलब्धि हो भन्ने उनको ठम्याइ रहेको छ । चिसो चुल्होलाई चाहिँ महाकाव्य भनेका छैनन् । सन्ते र गौरीको प्रेम नै मूलभूत विषयवस्तु भए पनि सन्ते र गौरीको कथासँग असम्बद्ध कैयौं अरु कविता समाविष्ट भएको हुनाले एउटै लामो कविता नभएको प्रस्तुत कृति महाकाव्य नभएर कविता सङ्ग्रहका रूपमा रहेको छ भन्ने उनको तर्क छ । पात्रको निर्माणमा पनि अस्वभाविकता र अतिशयोक्तिलाई अँगालेर पात्रगत सन्तुलन नभएको भनि शर्माले समको आलोचना गरेका छन् । यति भएर पनि काव्यात्मक अभिव्यक्ति चाहिँ सवल र सफल रहेको कुरा भने शर्माले स्वीकार गरेका छन् ।
समका पौराणिक, नाटकमा ‘ध्रुव’ र ‘प्रल्हाद’ तथा ऐतिहासिक नाटकहरूमा ‘भक्त भानुभक्त’ ‘अमरसिंह’ र ‘भीमसेनको अन्त्य’ जस्ता नाट्यकृतिहरूबाट शर्माले समेली नाटकहरूमा भएका केही दुर्बल पक्षको आलोचना र केही सबल पक्षको प्रशंसा गरेका छन् । शेक्सपियरका वियोगान्त नाटकमा पाइने दुई कुरा–नाटकमा दृश्य समाप्त भएपछि पर्दा खस्नुभन्दा अगाडि नै पात्रहरूलाई निकाल्ने र पात्रले मनमा सोचेका कुरा पात्रले नसुन्ने तथा श्रोताहरूले सुन्न सक्ने गरी उद्घोष गर्ने– चलनलाई समले अँगालेको देखिन्छ । यी दुई नाटकमा पनि सम शेक्सपियरका संयोगान्त नाटकबाट प्रभावित रहेको यथार्थलाई ताना शर्मा प्रस्ट्याउँछन् । शेक्सपियरका संयोगान्त नाटकभन्दा वियोगान्त नाटकमा मनोरञ्जन मात्र नभएर उद्देश्यमूलकता पनि भएकाले भिन्न छन् भन्ने शर्माको धारणा छ । नाटककार बालकृष्ण सम पाश्चात्य शेक्सपियरेली र इब्सनेली नाट्य साहित्यबाट प्रभावित हुँदै नेपाली साहित्यमा भन्दै मानवतावादको मूल सन्देश आफ्ना नाटकका माध्यमबाट दिएका छन् भनेका छन् ।
‘सम र समका कृति’ भित्रका समालोचना प्रभावपरक रहेका छन् । त्यसो त शर्मालाई आप्mनो विचारमा नअडिने, अस्थिर र प्रभाववादी समालोचक भनेर आलोचना पनि हुने गरेकै हो । बालकृष्ण सम व्यक्ति र उनका कृतिको विश्लेषण गर्दा पनि समेली नाटकहरूमा भएका सवल पक्षको उद्घाटन गर्दै केही दुर्वल पक्षहरूको समेत चर्चा गर्ने शर्माले व्यक्ति र कृतिले आफूमा पारेको प्रभावलाई नै प्रमुख आधार बनाएको देखिन्छ । कुनै पनि साहित्यकारका लागि भाषाशैली सशक्त र कलापूर्ण अभिव्यक्ति माध्यम भएको हुनाले यस कृतिका सिर्जक तानाशर्माले पनि आफ्नै झर्रा शब्दको प्रयोग गरेर रागात्मक प्रस्तुतीद्वारा पाठलाई आकर्षक बनाएका छन् । वस्तुतः प्रस्तुत कृतिमा नाटककार, कथाकार र कवि बालकृष्ण समलाई यथार्थतामा देखाउने प्रयास भएता पनि बालकृष्ण समका निबन्धहरूको समिक्षा नभएकाले कृतिमा अपूर्णताको गन्ध आउँछ । समालोचक ताना शर्माको कमजोरी पक्ष पनि यही नै हो । केही दुर्वलता रहेर पनि नेपाली साहित्यका साहित्यकारको व्यक्तित्व र कृतित्वको परिचय र आलोचना, व्याख्या समेत भएको कृतिहरूमा प्रथम स्थान ओगट्न पुग्नु चाहिँ समालोचक ताना शर्माको निजी वैशिष्ट्य हो ।
ताना शर्माको लेखनमा पाइने प्रभावपरकता तथा अन्य समालोचकीय प्रवृत्तिहरू सम र समका कृतिमा रहेका उनका अभिव्यक्तिहरूबाट पनि स्पष्ट हुन्छ । शर्माले भनेका छन्, सर्वप्रथम एशियाली समाजबाट साम्राज्यवादी कुइरेहरूलाई लखेट्नुपर्छ भन्ने मुक्तिको र एकताको उच्च स्वर हाम्रै मुलुकबाट उर्लेको थियो । यस्तो गर्विलो परम्परालाई, यस्तो वीरतापूर्ण इतिहासलाई र यस्तो चेतनशील राष्ट्रियतालाई विश्वले त बिर्सने प्रयत्न ग¥यो–ग¥यो, आजका नेपालीहरूले समेत बिर्सने जमर्को गरेको देख्दा समका छातीमा पैरो गयो, मुटुमा भुइँचालो आयो । मथिङ्गलमा चट्याङ प¥यो अनि उहाँको प्रतिभा सम्पन्न लेखनीबाट प्रवाहित भयो ‘अमरसिंह’ (पृष्ठ, २२०) । समजस्ता उच्च प्रतिभाका बारेमा व्याख्या र विश्लेषण थोरै भएको भन्दै शर्मा लेख्छन्, ‘यो पुस्तक समप्रति श्रद्धा प्रकट गर्न लेखिएको हो र उहाँ जस्ता नेपाली साहित्यका विभूतिको जति प्रशंसा गरे पनि थोरै हुन्छ ।’ (पृष्ठ, २६७) यद्यपि समालोचना कसैको प्रभावमा आएर प्रशंसा गर्न, प्रतिक्रियात्मक किसिमले टिप्पणी गर्न वा स्तुती गर्न लेखिने कुरा होइन । यही वस्तुपरकता समको लेखनमा खड्कििन्छ । यति हुँदाहुँदै पनि विवेच्य कृति नेपाली समालोचनाको एक अतुलनीय प्राप्ती हो ।
नेपाली समालोचनाका सीमित कालजयी कृतिहरूमा ‘सम र समका कृति’को अग्रस्थान रहेको छ । २०२८ सालको साझा पुरस्कार प्राप्त उक्त कृति समको लेखनीप्रति जिज्ञासु जो कोही पाठकका लागि सङ्ग्रहणीय छ ।