‘भाग्य फुट्यो, गिट्टी फुट्दैन’

बिसौनी संवाददाता
सुर्खेत, १८ चैत ।
चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको धुलो पोतिएको छ । ओठमुख सुकेका छन् । हत्केलामा ठेला उठेका छन् । उनको दायाँ हात राम्रोसँग चलाउन मिल्दैन । तै पनि च्यातिएको त्रिपाल नजिक उनी सकि नसकि 
गिट्टी कुटिरहेकी छन् । कोही नयाँ मान्छेले बोलाउने वित्तिकै उनी 
गिट्टी खरिदका लागि आएको ग्राहक ठानेर मोलमोलाई समेत सुरु गरिहाल्छिन् ।
शिविरमा कोही नयाँ मान्छे प्रवेश गर्ने वित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ, ‘गिट्टी खरिदका लागि नै ग्राहक आएको हो कि ?’ तर, शिविरमा छिरेको मानिस गिट्टीको लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाका धर्सा देखिन्छन् । छेउमै रहेको गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्छिन् । सुर्खेतको गिरीघाटस्थित बाढीपीडितको अस्थायी शिविरमा देखिएको दृष्य हो यो । डेढ वर्षअघि साउन अन्तिम साता भेरी नदीमा आएको बाढीका कारण घरवारविहीन बनेकी हरिहरपुरकी गंगा बुढाका दिन हिजोआज गिट्टी फुटाउँदै बित्छन् । उमेरले ६० कटेकी उनलाई हिजोआज छाक टार्नै मुस्किल छ । गिट्टीको सहारामा जेनतेन पेट भरिरहेकी छन् । एक दिन गिट्टी कुट्न छोड्दा उनको चुल्हो नै बल्दैन । 
गाउँमा हुँदा गंगालाई अपुग केही थिएन, बस्नलाई घर थियो । परिवारले खाएर बचत भएको अन्न बिक्री 
गर्थिन् । परिवारका सबै सदस्यहरू घरमै बसेर दुःख–सुख गर्थे । नातिनातिनाहरू नजिकैको स्कुलमा पढ्थे । बुढेसकालमा त्रिपालमा बसेर गिट्टी कुट्नु पर्ला भन्ने उनले कल्पना समेत गरेकी थिइनन् । तर गाउँ नै उजाड बनाउने गरी भेरीमा आएको बाढीले उनका सबै सपनाहरू बगायो । घरबारविहीन भएपछि उनको परिवार डेढ वर्षदेखि त्रिपालमुनी खुम्चिएको छ । निधारमा बगेको पसिना पुछ्दै गंगाले भनिन्, ‘मेरो ६ जनाको परिवार छ, सरकारले केही दिदैन । आफ्नो नाममा केही पनि छैन, यही गिट्टी नकुटे कसरी पेट भर्नु ?’ ‘भाग्य नै फुटेपछि के गर्नु ? यो बुढेसकालमा 
आएर गिट्टी फुटाल्नु परेको छ’ उनी भन्छिन्, ‘शरीर पनि कमजोर भइगो, ज्यान सञ्चो छैन । गिट्टी फुटाल्न खोज्छु तर पनि सकिदैंन, भाग्य फुटेपछि त गिट्टी पनि फुट्दो 
रहेनछ ।’ छाक टार्न मुस्किल भएपछि परिवारका पुरुष सदस्यहरू भारत गएका छन् । नातिनातिना साना भएकाले खर्च जुटाउने जिम्मेवारी उनको काँधमा आएको छ । उनले थपिन्, ‘मैले गिट्टी कुट्न छोडेपछि चुल्हो नै बल्दैन । यो बुढेसकालमा दिनभरी गिट्टी फुटाल्नुपर्ने भयो, रातभरी शरीर दुखेर मर्नुहुन्छ ।’ 
गिट्टी कुट्दा उनका हत्केलामा ठेला उठेका छन् भने दायाँ हात दुखेर चलाउन नमिल्ने भएको छ । जसले गर्दा आफूले चाहेर पनि धेरै गिट्टी कुटन् नसकेको भन्दै छाक टार्न कठिन भएको दुखेसो पोखिन । दुई वर्ष पुग्न लाग्दा समेत बाढीपीडितहरूको पुनस्र्थापनाको काम भएको छैन । सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराउन छोडेपछि हिजोआज विस्थापितहरूलाई छाक टार्न समस्या भएको हो । खोलामा गिट्टी कुट्दै आएका यहाँका बाढीपीडितहरू गिट्टी पनि बिक्री हुन छोडेपछि छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । शिविरमा ६५ वर्षीय सोमबहादुर सारु असिन पसिन भएर गिट्टी कुटिरहेका थिए । दुई साता भयो, सोमबहादुरको गिट्टी बिक्री नभएको । गिट्टी बिक्री नहुँदा उनको परिवारले छिमेकीसँग मागेर छाक टारिरहेको 
छ । आम्दानीको अन्य स्रोत नहुँदा छाक टार्नका लागि विस्थापितहरू नजिकै रहेको खोलाबाट ढुङ्गा बोकेर ल्याउँछन् । मजदुरीका लागि पुरुषहरू मुग्लान पसेपछि शिविरमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्र छन् । उनीहरू दिनरात गिट्टी फुटाउने काममा व्यस्त हुने गरेका छन् । हातमा ठेला उठाएर, ज्यान थकाएर कुटेको गिट्टी पनि बिक्री नहुँदा विस्थापितलाई दुई छाक टार्न मुस्किल भएको हो । ‘दस÷बाह्र दिन भइसक्यो गिट्टी लिन कोही आएको छैन’ सोमबहादुरले भने, ‘अब त छाक कसरी टार्ने भन्ने समस्या पर्न थालिसक्यो ।’ गंगा र सोमबहादुरलाई मात्र होइन अहिले जिल्लाका विभिन्न अस्थायी शिविरमा रहेका विस्थापितहरूको पीडा उस्तै छ । 
शिविरमा रहेका वृद्धवृद्धाहरूको काम नै हिजोआज गिट्टी फुटाउने भएको छ । विस्थापित दिलसरा सुनार भन्छिन्, ‘मेरो त भाग्य नै फुट्यो, के सोचेकी थिए के भइदियो । बुढेसकालमा परिवारसँगै सुखले बाँचौला भन्ने रहर पालेकी थिएँ, सबै बाढीले बगायो हजुर ।’ लामो समयसम्म पनि पुनस्र्थापना नभएपछि यहाँका बाढीपीडितहरूले शिविर नजिकै रहेका खोला किनारमा गिट्टी कुटेर गुजरा चलाइरहेका छन् । उनीहरूले राज्यले आफूहरूलाई हेला गरेको भन्दै तत्काल राहत र पुनस्र्थापना गर्न समेत माग गरेका 
छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार अहिले पनि करिब एक हजार परिवार विभिन्न अस्थायी शिविरमा त्रिपालमुनी रात कटाइरहेका छन् ।
प्रकाशित मितिः   १८ चैत्र २०७२, बिहीबार ०६:५२