जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा

सुर्खेत, १८ चैत ।  प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा भएको छ । परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् । स्थानीयको बासिन्दाको ढुंगा प्रहारबाट एक जना प्रहरी जवान घाइते भएका छन् ।
जाजरकोटको पैंक गाविसस्थित जनता उच्च मावि परीक्षा केन्द्रमा खटिएका प्रहरीमाथि बिहीवार विहान स्थानीयले ढुंगामुढा प्रहार गरेका हुन् । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान अम्मर थापा घाइते भएका छन् । उनको दाँत भाँचिएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआईजी माधव नेपालले विद्यार्थीहरु परीक्षा हलमा प्रवेश गर्न नपाउँदै स्थानीयले एकाएक प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए । विद्यार्थीहरुको चेकजाँच भइरहेको बेलामा एकाएक ढुंगामुढा भएको र एक जना प्रहरी घाइते भएको उनको भनाइ छ । डीआईजी नेपालका अनुसार परीक्षा केन्द्रमा स्थानीयको ठूलो भीड लागेका कारण ढुंगा हान्नेको पहिचान हुन नसकेको बताए । परीक्षामा चिट चोराउन भन्दै जम्मा भएका स्थानीयलाई हटाउन खोजेपछि आक्रोशित बनेका स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । यस्तै जाजरकोटकै एक परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिर लैजादै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पञ्चलादह मावि परीक्षा केन्द्रबाट विद्यालयका कार्यालय सहयोगी पदम बस्नेतलाई पक्राउ गरिएको डीआईजी नेपालले जानकारी दिए । उनका अनुसार बस्नेतले अंग्रेजी विषयको प्रश्नपत्र बाहिर लैजादै गर्दा पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका अनुसार एसएलसीको पहिलो दिन यस क्षेत्रका अन्य जिल्लामा भने परीक्षा शान्तिपूर्ण भएको छ । क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले पहिलो दिनको परीक्षा अपेक्षा गरेअनुसार नै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । आज बिहीवार अनिवार्य अ्रग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । मध्यपश्चिमबाट नियमित र आंशिकतर्फ गरी करिब ९८ हजार विद्यार्थी परीक्षामा सहभागि भएका छन् । 
प्रकाशित मितिः   १८ चैत्र २०७२, बिहीबार ०७:१२