संस्कृति जोगाउन म्यूजिक भिडियो

सुर्खेत : थारु लोकसंस्कृति झल्कने म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बुधवार वीरेन्द्रनगरमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले सुर्खेत उपत्यकाका मूल आदिवासीको रूपमा चिनिने थारु जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा यो म्यूजिक भिडियो संस्कृति संरुक्षणमा महत्वपूर्ण सावित हुने बताए । गीत संस्कृति समाजकै दर्पण भएकोले यस्ता रचनात्मक कार्यमा युवापुस्ताले ध्यान दिनुपर्नेमा उनले जोड दिए । हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको मानन्धरको भनाइ थियो ।

सुर्खेतका वरिष्ठ थारु साहित्यकार एवम् थारु संस्कृतिविद् मानबहादुर पन्नाको लय, शब्द रहेको गीतमा स्थानीय कलाकार लक्ष्मण, राजु, अमृता र हरिकला चौधरीको स्वर रहेको छ भने मोडलमा सुलभ चौधरी र अञ्जना चौधरी रहेका छन् । पन्नाले यसअघि कविता संग्रह, खण्डकाव्य, कथा संग्रही, महाकाव्य तथा गीति एल्वम समेत सार्वजनिक गरिसकेका छन् । गीतकार पन्नाले आफ्नो भेषभूषा, कला, साहित्य, संस्कृति पहिचानसँग जोडिने भएकाले यसतर्फ नयाँ पुस्ताका युवाहरू जुर्मराउनु पर्ने बताए । कर्णाली प्रदेशकै गहनाका रूपमा रहेका सुर्खेती थारु जातिको संस्कृतिप्रति स्थानीय सरकार, प्रदेश सरकार गम्भीर नहुनु दुःखद् भएको उनको टिप्पणी थियो ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकपनको संरक्षण गीत, चालचलन र परम्पराको डकुमेन्ट्री बनाउन समेत आवश्यक रहेको औल्याए । दिलबहादुर चौधरीले म्यूजिक भिडियोमाथि टिप्पणी गर्दै थारुहरूको थुप्रै लोकभाकामा नाँच्दा–गाउँदा प्रयोग गरिने लोक बाजा कस्तार, मुजुराको प्रयोग नभएकोमा आगामी दिनमा यस्ता टिपिकल कुरामा समेत ध्यान दिँदा सान्दर्भिक हुने सुझाव दिए । अर्का साहित्यकार सोमप्रसाद डेमनडौराले थारुहरूको कला संस्कृतिमा समुदाय आफै लाग्नुका साथै राज्य पनि गम्भीर हुनु पर्नेमा जोड दिए । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीले थारुहरू संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नु पर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै पन्नाको यो कार्य सुर्खेतका थारु जातिका लागि ऐतिहासिक उपलब्धि भएको बताएका थिए ।