समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवम् ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

बुधवार बिहान पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बसेको पदाधिकारीको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयलाई समाजवादीले पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ‘संविधान संशोधन गर्न सरकारमा गए पनि त्यो प्रक्रियामा प्रधानमन्त्री ओली बाधक बनेपछि सरकारमा बस्नुको औचित्य नभएको भन्दै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ’, अध्यक्ष यादवले भने । उनले अब समाजवादी पार्टी संसदको प्रतिपक्षमा रहेको बताए ।

प्रतिपक्षमा रहेर संविधानलाई संशोधन गर्न परिमार्जन गर्न र सुधार गर्न आफूहरू निरन्तर रूपमा लागि पर्ने उनको भनाइ थियो । समाजवादीबाट सरकारमा सहभागी यादवसहित मोहम्मद इस्तियाक राईले मंगलवार मन्त्री पदबाट राजीनामा दिएका थिए । उनले भने, ‘अंक गणितको हिसाबले उहाँहरूलाई असर नपरे पनि राजनीतिक मूल्य र मान्यताले नेकपा सरकारलाई ठूलो हलचल आइसकेको छ ।’

प्रकाशित मितिः   १० पुष २०७६, बिहीबार ०८:३७