बाहिरियो समाजवादी पार्टी

सरकारसँग रहेन दुई तिहाई

काठमाडौं : समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । समाजवादीबाट सरकारमा रहेका उप–प्रधान तथा कानुन मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले मंगलवार राजीनामा दिएका छन् ।

संविधान संशोधनका विषयमा सरकार गम्भिर नभएको भन्दै उपेन्द्रले सरकार छोडेका हुन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए । तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए । वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उप–प्रधानमन्त्री यादवले राजीनामा दिएको बुझिएको छ । सोमवारको मन्त्रिपरिषद् बैठकमा उप–प्रधानमन्त्री यादवले संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरेका थिए ।

सरकारमा सहभागी हुने बेलामा नेकपा र फोरमबीचमा दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिको पहिलो बुँदामा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने उल्लेख थियो भने दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख थियो । विगतमा भएको सहमतिकै आधारमा आफूले प्रस्ताव लगेको यादवले बताए । वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएसँगै सरकारले दुई तिहाइ हैसियत गुमाएको छ । समाजवादी पार्टी सरकारमा सहभागी हुँदासम्म सरकारका पक्षमा दुई तिहाई सांसद रहेका थिए । यद्यपि सरकारसँग सुविधाजनक बहुमत भने रहेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई बहुमतका लागि संसद्का एक सय ८३ जना सांसदको समर्थन चाहिन्छ । सत्तारूढ नेकपासँग एक सय ७४ जान सांसद छन् । संघीय समाजवादी पार्टीसँग १७ जना सांसद रहेका छन् । राजपाका १७ सांसद छन् ।

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै राजपा सरकारमा जाने चर्चा चलिरहेको छ । तर राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका छन् । साथै उनले समाजवादी पार्टीको सरकारबाट बहिर्गमनले पार्टी एकताका लागि सकारात्मक भएको बताए । पछिल्लो समय समाजवादी र राजपाबीच एकताका लागि प्रयास भइरहेको छ । ‘हामीले त समाजावादी पार्टीलाई यसअघि नै सरकार छोड्न भनेका थियौं । ढिलै भए पनि समाजवादी पार्टीले सरकार छोडेको छ । अब पार्टी एकताका लागि थप ढोकाहरू खुलेका छन्’ यादवले भने, ‘हाम्रा सांसद जेलमा छन् । थुप्रै कार्यकर्ताहरूलाई मुद्दा लागेका छन् । यस्तो अवस्थामा सरकारमा जाने कुनै सम्भावना छैन ।’ नेकपासँग राष्ट्रियसभाका लागि भएको तालमेल विल्कुलै चुनावीमात्रै भएकाले सत्ता गठबन्धनमा यसको सम्बन्ध नरहेको यादवको दाबी छ । नेकपा र राजपाबीचमा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का लागि २–२ स्थानमा सहमति
भएको छ ।

प्रकाशित मितिः   ९ पुष २०७६, बुधबार ०९:४८