सामुदायिक विद्यालयमा ‘भर्चुअल कक्षा’

सुर्खेत : भेरीगंगा नगरपालिकाका विद्यालयमा भर्चुअल सिकाइ अभ्यासको सुरुवात गरिएको छ । नगरपालिकाभित्रका पाँच वटा सामुदायिक विद्यालयमा यो वर्षदेखि पहिलो पटक भर्चुअल शिक्षण सिकाइ अभ्यास गरिएको हो ।

पाँच वटा विद्यालयको कक्षा दशमा यो सिकाइ सुरुवात गरिएको भेरीगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए । उनले यो नेपालमै नयाँ अभ्यास भएको समेत दावी गरे । ‘कर्णालीमा मात्र होइन, यो नेपालकै नयाँ अभ्यास हो’ उनले भने, ‘आगामी वर्षदेखि अन्य क्षेत्रहरूमा पनि यसको प्रयोग हुने विश्वास हामीले लिएका छौं ।’

अहिलेलाई अंग्रेजी, गणित र विज्ञान विषयलाई भर्चुअल शिक्षण सिकाइमार्फत अध्यापन सुरु गरिएको हो । यसले विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने, कक्षाकोठामा आधुनिक प्रविधि भिœयाउने र शिक्षक व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । यो कार्यक्रम सञ्चालनका लागि यस वर्ष भेरीगंगा नगरपालिकाले १६ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रमको मंगलवार नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले उद्घाटन गरेका हुन् ।

प्रकाशित मितिः   ९ पुष २०७६, बुधबार ०९:४५