निःशुल्क शिक्षामा जोड
सुर्खेत : मानवअधिकारको अवस्था शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा छलफल गरिएको छ । राष्ट्रिय कृषक महासंघ कर्णाली प्रदेशको समन्वय र इन्सेक तथा मानवअधिकार निगरानी समूह वीरेन्द्रनगरको आयोजनामा छलफल गरिएको हो । उक्त छलफल कार्यक्रममा सरकारले केही तहसम्म निःशुल्क शिक्षा भने पनि व्यवहारमा लागू नभएको कार्यक्रममा सहभागीहरूले गुनासो गरेका थिए । सरकारले गरेको व्यवस्थालाई लागू गर्नुपर्ने उनीहरूको धारणा थियो । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर–११ का वडा अध्यक्ष नन्दलाल शर्माले शिक्षामा लगानी कम भएको बताए । ‘सरकारले निःशुल्क भनेको छ,’ उनले भने, ‘तर पर्याप्त पूर्वाधार र जनशक्ति छैन, जसले गर्दा पनि राम्रो पठनपाठनका लागि विद्यार्थीबाट शुल्क भन्दा सहयोग संकलन गर्नु परेको छ ।’ जनशक्ति र पर्याप्त पूर्वाधार नहुँदासम्म निःशुल्क शिक्षा व्यवहारमा लागू गर्न कठिनाइ भएको उनले बताए ।
त्यस्तै कार्यक्रममा मानवअधिकार निगरानी समूह वीरेन्द्रनगरकी अध्यक्ष लक्ष्मीकुमारी शर्माले शैक्षिक संस्थामा पर्याप्त पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराउनुपर्ने बताइन् । संविधानले दिएको अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार र नागरिकले पनि सहयोग पु¥याउनुपर्ने उनको भनाइ छ । त्यस्तै कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष शशीराम आचार्यले किसानका लागि आएको अनुदान कृषकसम्म नपुगेको गुनासो गरे । साथै उनले कृषि योजना छनोट गर्दा किसानको सहभागिता हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः ८ पुष २०७६, मंगलवार ०९:३५
साझा बिसौनी ।