रिपिटर टावर नहुँदा सञ्चारमा समस्या

डोल्पा : नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ वटा टावरमध्ये छ ठाउँमा रहेका टावर कोरियान सेटेलाइटबाट जोडिएका छन् भने बाँकी पाँच ठाउँमा रहेका माइक्रोवेबमा जोडेर सञ्चालन भएका छ ।

जिल्लाको मौरे, रसीको लेखमा रिपिटर टावर रहेको नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले बताए । कोरियान सेटेलाइटबाट जोडिएका टावरबाट एक पटकमा १६ जना व्यक्तिले मात्र फोन गर्न मिल्ने उनले जानकारी दिए । माइक्रोबेवमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीय सञ्चार सेवा सहज रूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियान सेटेलाइट विस्थापित गरेर माइक्रोबेवबाट चल्ने टावर जोड्ने काम सुरु भए पनि अहिले हिमापात जारी रहेकाले दुई महिनादेखि काम सुरु गर्न नसकिएको भट्टराईले जानकारी दिए । जिल्लामा दुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिंक जोड्न समस्या भएको छ ।

रिपिटर टावर कम भएकै कारण जिल्लामा महिना पिच्छे टावरमा समस्या आउने गरेको हो । जिल्लाका सबै टावरलाई माइक्रोबेवमा जोडेर सञ्चालन गरेमा मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ । सेटेलाइटबाट एक पटक १६ जनाले फोन गर्न मिल्ने र इन्टरनेट चलाउँदा भारी महङ्गो हुने गर्दछ । महङ्गो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । डोल्पामा नयाँ २ टावरको निर्माण कार्यसमेत जारी रहेको बताइएको छ । टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । मुड्केचुला गाउँपालिकामा नयाँ टावर थपेर काम सुरु भएको छ । अहिले भारी हिमपात हुने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित मितिः   ८ पुष २०७६, मंगलवार ०९:२४