गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त

दैलेख  : अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ । शाहीलाई कालीकोटको शुभकालिका गाउँपालिकाको छातीगाउँबाट आइतवार साँझ अपहरणमुक्त गरिएको प्रहरीले जनाएको छ । अछाम, दैलेख र कालिकोटबाट गएको प्रहरीले टोलीले १३ घण्टा लगाएर शाहीको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीआईजी पूर्णचन्द जोशीले जानकारी दिए । ‘प्रहरी छातीगाउँ पुगेकै बेला विप्लव कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए’ जोशीले भने, ‘प्रहरीले फायर खोलेपछि विप्लव कार्यकता भागे, त्यसपछि शाहीको उद्धार गरेका हौं, उहाँ सकुशल हुनुहुन्छ ।’

शनिवार राती १२ बजेतिर १०÷१५ जनाको संख्यामा पुगेका नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेकपाका कार्यकर्ताले शाहीको अपहरण गरेका थिए । शाहीसँगै उनकी पत्नी इला शाहीको पनि अपहरण भएको थियो । उनी आइतवार दिउँसो कालिकोटको सीमाना सुकाने जंगलमा भेटिएकी थिइन् । उनका भाइ हस्तबहादुर शाहीले जानकारी दिए । ठाटीकाँध गाउँपालिका–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरूलाई अपहरण गरिएको शाहीका भाइ हस्तबहादुर शाहीले बताए । पार्टीविरुद्ध सुराकी र भ्रष्टाचार गरेकाले शाहीलाई नियन्त्रणमा लिएको दावी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको छ ।

प्रकाशित मितिः   ७ पुष २०७६, सोमबार १०:००