आमाघरलाई मुसुमको सहयोग
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्व–विद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसुमले) सुर्खेतले आमाघरमा रहेका बालबालिकाहरूलाई सहयोग गरेको छ । आमाघरको आश्रयमा रहेका आठ जना बालबालिकाहरूलाई ज्याकेट र खाद्यान्न सहयोग गरिएको मुसुम विद्यार्थी कल्याण परिषद्का वीरेन्द्रविक्रम लामाले बताए ।
आइतवार मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका निर्देशक डा. सुशीलकुमार शाहीले सामग्री हस्तान्तरण गरेका हुन् । आमाघरका प्रतिनिधि अनिल ढकाललाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै निर्देशक शाहीले विश्वविद्यालयले अध्यापनको मात्रै काम नगरी सामाजिक सेवाको समेत काम गर्ने बताए । उनले अझै पनि समाजमा गरिबीमा पिल्सिएको बस्तीमा गई प्राथमिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याउने उद्देश्य बोकेको जानकारी दिए ।
त्यस्तै आमाघरका अनिल ढकालले नशा सेवन गरी सडकमा आतङ्क मच्चाउँदै हिँडेका बालकहरूलाई संरक्षणमा राखेको भए पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको बताए । उनले अझै पनि वीरेन्द्रनगरको सडकमा ६० देखि ७० को हाराहारीमा बालबालिकाहरू रहेको बताए । लागुऔषध प्रयोग गर्ने युवाहरूले बालकहरूलाई आर्थिक संकलनमा प्रयोग गरेको पाइएको उनले बताए । यसमा सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मितिः ७ पुष २०७६, सोमबार ०९:५५
साझा बिसौनी ।