वामदेवलाई उपाध्यक्ष बनाउन विधान संशोधन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । गत मंसिर २९ देखि बसेको बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बैठकले नेताहरूको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै वामदेव नेकपाका उपाध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । गत साउन २१ गते नै वामदेवलाई उपाध्यक्ष बनाउन नेकपा सचिवालयबाट निर्णय लिइएको थियो । नेकपाको विधानमा उपाध्यक्ष रहने व्यवस्था नहुँदा वामदेवलाई उपाध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने हुन्छ । अब विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीले गर्नेछ । नेकपाले आगामी पुस २३ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

२३ गतेको बैठकले विधानमा ‘एक उपाध्यक्ष रहनेछ’ भन्ने उल्लेख गरेसँगै वामदेव उपाध्यक्ष बन्नेछन् । ‘उपाध्यक्ष थप गर्नका लागि गरिएको विधान संशोधन स्थायी कमिटीले अनुमोदन गरेको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब यसबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय लिनेछ ।’ एक सातादेखि जारी नेकपाको बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पारित भएका छन् । नेकपा स्थायी कमिटी बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनको परियोजनालाई लिएर नेताहरूबीच लामो विवाद भएको थियो । नेताहरू यस मुद्दामा दुई पक्षमा विभाजित नै भएका थिए । नेपाल–भारत सीमा समस्या समाधानका विषयमा सदस्यहरूले सुझाव पेश गरेका थिए । नेकपाले भारतले जारी गरेको नक्साप्रति असन्तुष्टी जनाउँदै सरकारले कुटनीतिक पहल गरेर समाधान खोज्नुपर्ने पनि जनाएको छ ।

प्रकाशित मितिः   ७ पुष २०७६, सोमबार ०९:४९