‘हामीसँग जग्गा छ, बजेट मात्रै चाहियो’

DSC05325
चेतबहादुर अधिकारी उपाध्यक्ष, सुर्खेत जिल्ला ब्याटमिन्टन संघ

वि.सं. २०६४ सालमा स्थापना भएको सुर्खेत जिल्ला ब्याटमिन्टन संघ यतिबेला एउटा बृहत योजनाका साथ अघि बढिरहेको छ । संघले सुर्खेतमा एउटा बहुउद्देश्यीय कभर्ड हल निर्माणको उद्देश्य राखेको छ । मुख्य उद्देश्य व्यवस्थित ब्याटमिन्टन कोर्ट निर्माण रहे पनि संघले यसलाई बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने बृहत योजना अघि सारेको छ । उक्त योजना पूरा गर्न संघले आगामी कार्तिक २५ देखि मंसिर २ गतेसम्म वीरेन्द्रनगरमा धार्मिक महायज्ञ सञ्चालन गर्दैछ । यसै सन्दर्भमा रहेर हामीले सुर्खेत जिल्ला ब्याटमिन्टन संघका उपाध्यक्ष एवम् महायज्ञ आयोजक मूल समितिका अध्यक्ष चेतबहादुर अधिकारीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी ः

सर्वप्रथम, जिल्ला ब्याटमिन्टन संघका बारेमा केही जानकारी गराइदिनुस् न ?
सुर्खेतमा ब्याटमिन्टन संघ स्थापना भएको ९ वर्ष भइसकेको छ । यसबीच हामीले विभिन्न किसिमका गतिविधिहरू सञ्चालन गर्दै आएका छौं । वर्षमा दुई पटक जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्ने गरेका छौं । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग समन्वय गरेर प्रहरी कार्यालय परिसरमा ब्याट्मिन्टन कोर्ट निर्माण गरेका छौं । आगामी दिनमा एउटा बृहत कभर्ड हल स्थापना गर्ने लक्ष्यसहित हामीले हाम्रा गतिविधि अहिले त्यसमा केन्द्रित गरेका छौं ।
ब्याटमिन्टनको क्षेत्रमा सुर्खेतको अवस्था कस्तो छ ?
वीरेन्द्रनगरमा मात्र अहिले झण्डै ४० स्थानमा ब्याटमिन्टन कोर्ट छन् । खुला चौरमा कोर्ट निर्माण गरेर खेल्ने र मनोरञ्जन लिने गरेको पाइन्छ । यसलाई व्यवस्थित र व्यावसायिक बनाउन आवश्यक छ । पछिल्लो पुस्तामा यो खेलप्रति आकर्षण पनि बढ्दो छ । खेलेर प्रतियोगितामा सहभागिता जनाउनका लागि मात्र होइन स्वास्थ्यका लागि पनि लाभदायक हुने हुनाले बालबालिकादेखि वयस्क अवस्थाका मानिसहरू पनि ब्याटमिन्टन खेल्ने गर्दछन् । अहिले मनोरञ्जन र स्वास्थ्यका लागि खेलिने ब्याटमिन्टनलाई व्यवस्थित बनाउन सके जिल्लाबाट राम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने सम्भावना पनि छ । धनगढीमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा मात्रै सुर्खेतबाट ८ जना खेलाडीले ब्याटमिन्टनमा सहभागिता जनाएका थिए । पछिल्लो समय उमेर समूहमा पनि जिल्लाबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाइरहेका छन्, खेलाडीहरूले । त्यसकारण ब्याटमिन्टन राम्रो सम्भावना बोकेको खेल हो । अब यसको विकासका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।
ब्याटमिन्टन खेलको विकासमा देखिएका समस्या के छन् ?
सबैभन्दा प्रमुख समस्या भनेको कभर्डहलको अभाव नै हो । कभर्डहल नहुँदा खेलाडीहरूले राम्रो प्रशिक्षण पाउन र अभ्यास गर्न पाएका छैनन् । जिल्लामा ब्याटमिन्टनको एक जना प्रशिक्षक समेत छैनन् । यो बिडम्वना हो । हामीले प्रशिक्षकको दरबन्दी कायम गर्न र प्रशिक्षक ल्याउन प्रयास ग¥यौं । तर कभर्ड हल नभएको हुँदा सफल हुन सकेका छैनौं । प्रशिक्षकहरू पनि कभर्ड हल नभएसम्म आउन मान्दैनन् । कभर्डहल निर्माणका लागि भने हामीसँग बजेटको अभाव छ । हामीसँग जग्गा उपलब्ध छ । सरकारी निकायबाट पर्याप्त बजेट आउँदैन । त्यसैले अब सरकारको मात्र मुख ताकेर हुँदैन भनेरै हामीले आफ्नै प्रयासमा महायज्ञ सञ्चालन गरी कभर्ड हल निर्माणका लागि आर्थिक सङ्कलन गर्ने योजना ल्याएका छौं ।
कभर्ड हलको आवश्यकता किन प¥यो ?
हामी सुर्खेतलाई यस प्रदेशको भावी राजधानीको रूपमा परिकल्पना गरिरहेका छौं । तर यहाँ एउटा व्यवस्थित कभर्ड हल नै छैन । यो दुर्भाग्य हो । राजधानी हुनलाई सबै प्रकारका भौतिक संरचनाहरू निर्माण हुन जरुरी छ । हामीले बनाउने भनेको कभर्ड हल ब्याट्मिन्टन खेल्नका लागि मात्र होइन, यो बहुउद्देश्यीय कभर्ड हल हो । जहाँ हामी न्यूनतम तीन वटा ब्याट्मिन्टन कोर्ट बनाउँछौं । यसका साथै कभर्डहलमा व्यायाम तथा जीम गर्न सकिने, भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका इन्डोर गेमहरू सञ्चालन गर्न मिल्ने र तीनसयदेखि पाँच सय जना सहभागी हुन सक्ने सभाहलको रूपमा समेत प्रयोग गर्न मिल्ने गरी बनाउने लक्ष्य छ । त्यसकारण यो कभर्ड हल केवल ब्याटमिन्टन खेल्नका लागि मात्र होइन यसलाई धेरै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । र सुर्खेतमा त्यस्तो कभर्ड हलको आवश्यकता पनि छ त्यसैले हामीले निर्माणको योजना अघि बढाएका हौं ।
महत्वाकांक्षी योजना ल्याउनुभएको छ, सफल होला ?
पक्कै पनि सफल हुन्छ । किनभने हामीले जिल्लाका लागि आवश्यक काम गर्दैछौं । यसमा सम्पूर्ण जिल्लावासीको सहयोग मिल्ने अपेक्षा हामीले गरेका छौं । सुर्खेतवासीहरू अत्यन्तै सहयोगी र दानी हुनुहुन्छ । हामीले विगतका धार्मिक महोत्सव र महायज्ञहरूमा पनि देखेका छौं । त्यसैले कभर्ड हल निर्माणको काममा पनि उहाँहरूले पक्कै सहयोग गर्नुहुन्छ । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भयो भने सफल हुन्छौं ।
कभर्डहल निर्माणको प्रक्रिया कहाँ पुगेको छ ?
हामी अहिले आर्थिक सङ्कलनकै चरणमा छौं । सदस्यता शुल्कबाट पनि हामीले रकम सङ्कलन गरिरहेका छौं । हालसम्म करिब डेढ लाख रूपैयाँ सङ्कलन भइसकेको छ । हामीले १ हजार १ सय रूपैयाँ सदस्यता शुल्क निर्धारण गरेका छौं र उक्त सदस्यता लिए वापत हामी शान्ति कलश पनि प्रदान गर्छाैं । हालसम्म एक हजार जनालाई सदस्यता वितरण गरिसकेका छौ भने पाँच हजार जना पु¥याउने हाम्रो लक्ष्य छ । सदस्यताबाट केही रकम सङ्कलन हुनेछ भने आगामी कार्तिक २५ देखि मंसिर २ सम्म मध्यपश्चिम क्षेत्रीय धार्मिक महोत्सव तथा महायज्ञ सञ्चालन गर्दैछौं । त्यसबाट २ देखि ५ करोड रूपैयाँसम्म सङ्कलन गर्ने लक्ष्य छ । उक्त लक्ष्य पूरा गर्न सपल भयौं भने कभर्ड हल निर्माणका लागि हामीले सरकारको मुख ताकिरहन पर्दैन । तीन वटा कोर्टको कभर्ड हल निर्माणका लागि करिब २ करोड खर्च लाग्ने देखिन्छ । यदि त्यो भन्दा धेरै रकम सङ्कलन भएमा ५ वटा कोर्टसहितको हल निर्माण गर्नेछौं ।
निजी क्षेत्रबाट कत्तिको सहयोग पाउनुभएको छ ? र के अपेक्षा गर्नुभएको छ ?
निजी क्षेत्रबाट पनि सहयोगको आश्वासन पाइरहेका छौं । व्यक्तिगत रूपमा सदस्यता लिएर पनि कतिपयले सहयोग पु¥याउनुभएको छ । संस्थागत रूपमा पनि सहयोग गर्न चाहनेहरूलाई हामी स्वागत गर्दछौं । कभर्ड हल सुर्खेतका लागि आवश्यक छ भनने बुझेर सबैले सहयोग गरिदिनुभयो भने हामी सफल हुनेछौं ।
कभर्डहल निर्माणपछिको तपाईंहरूको भावी योजना के छन् ?
अहिले हामी कभर्ड हल निर्माणमा नै केन्द्रित छौं । हल निर्माण भइसकेपछि हामी त्यसलाई उपयोग गर्ने र व्यवस्थित रूपमा सञ्चालन गर्न लाग्नेछौं । हल भइसकेपछि आर्थिक स्रोत जुटाउन सकेको खण्डमा जिल्लामै हामी क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न सक्नेछौं । हाम्रो ध्यान त्यसमा पनि हुनेछ । ब्याटमिन्टनको प्रशिक्षक राख्न पहल गर्नेछौं । हाम्रो मूल उद्देश्य भनेको जिल्लामा राम्रा ब्याटमिन्टन खेलाडी उत्पादन गर्ने नै हो । राम्रो खेलाडी उत्पादन गर्न बाल्यकालदेखि नै उसलाई सीप सिकाउन जरुरी छ । त्यसका लागि नै कभर्ड हलको आवश्यकता परेको हो । त्यसैले कभर्डहल निर्माणपछि हामी उत्कृष्ट खेलाडी उत्पादनमा केन्द्रित हुनेछौं ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
हामीले कल्पना गरेको कभर्ड हल ब्याटमिन्टन संघका लागि मात्र होइन जिल्लाकै विकाससँग जोडिएको सवाल पनि हो । त्यसैले कल निर्माणको हाम्रो अभियानमा सहभागी भइ सहयोग गरिदिन म जिल्लास्थित सबैसँग आग्रह गर्न चाहन्छु । हामी एउटा बहुउद्देश्य कभर्ड हल निर्माण गर्ने योजनामा छौं । यो हल मात्र होइन एउटा मिनी हस्पिटलको रूप पनि हुनेछ । त्यसकारण म फेरि पनि सबैसँग सहयोगको अपिल गर्दछु ।