‘तीन वर्षभित्र कर्णाली उज्यालो’


सुर्खेत : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको तीन वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लाहरूमा राष्ट्रिय विद्युत प्रसारणलाइन विस्तार हुने बताएका छन् । शनिवार सुर्खेत आएका घिसिङले कर्णालीमा विद्युत विस्तारलाई उच्च प्राथमिकतामा राखिने बताए ।

कर्णालीका पाँच जिल्लामा हालसम्म पनि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणलाइन पुग्न सकेको छैन । अब ती जिल्लामा पनि विद्युत विस्तार गरेर उज्यालो बनाउने योजना प्राधिकरणको रहेको उनको भनाइ थियो । ‘हामी कर्णालीलाई तीन वर्षमा उज्यालो बनाउने योजनाका साथ काम गरीरहेका छौं’ उनले भने, ‘यसमा बजेटको अभाव हुन दिने छैनौं ।’ साथै उनले कोहलपुर–सुर्खेतको क्षमता बढाउने र त्यसलाई अन्य जिल्लासम्म विस्तार गर्न पहल गरिने बताए । यसको टेण्डर आह्वान गर्न लागत मूल्यांकन गरिरहेका घिसिङले जानकारी दिए । उनले राष्ट्रिय प्रसारणलाइन बनेको खण्डमा कर्णालीमा विद्युतको समस्या समाधान हुने जनाए ।

यसैबीच घिसिङले शनिवार प्राधिकरणको कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरसँग कार्यसम्पादन सम्झौता गरेका छन् । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भइ कर्णाली प्रदेश डिभिजन कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग डिभिजन कार्यालय प्रमुख सुरेन्द्रप्रसाद अग्रहरीले कार्यसम्पादन सम्झौता गरेका छन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखले सम्झौता गरे । कार्य सम्पादन सम्झौतामा विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी अंकभार ५० राखिएको छ । कार्य सम्पादनमा राखिएका सूचकहरूको वस्तुनिष्ठ मूल्याङ्कन गरी केन्द्र प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचाङ्क निर्धारण गरिएको छ । घिसिङले विगतका वर्षमा विद्युत प्राधिकरणका कर्मचारीले वैशाख र जेठमा कोटेशनमार्फत काम गराउने सम्झौता भएकाले छानविन भइरहेको बताए । ‘आठ महिना हात बाँधेर बस्ने अनि अन्तिम समयमा कोटेशनमार्फत करोडौंको काम भएको पाइयो । त्यसबारेमा हामी छानविन गरिरहेका छौं,’ उनले भने, ‘ठूलो समस्या भए वा प्राधिकरणलाई ठूलो क्षति हुने अवस्थाबाहेक तपाईंहरू कोटेशनमार्फत बिल्कूल काम नगराउनुहोला ।’