कर्णाली करिडोर निर्माणको काम तीव्र

हुम्ला : जिल्लाको सदरमुकाम सिमिकोट यो आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एकसय २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न हुने भएपछि सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो । सल्लीसल्लादेखि सिमिकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ ।

नेपाली सेनाका सेनानी मिलन कार्कीले सेनाले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म एकसय ११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको स्थलगत निरीक्षणका क्रममा सेनानी कार्कीले यस्तो जानकारी दिएका हुन् । खुलालुदेखि हुम्लाको सिमिकोटसम्म निर्माण भइरहेको सडकको कुल लागत दुई अर्ब ८४ करोड रूपैयाँ रहेको छ । जसमध्ये गत आर्थिक वर्षसम्ममा एक अर्ब १३ करोड रूपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षमा ४० करोड रूपैयाँ खर्च गर्ने लक्ष्य सेनाले राखेको छ ।

दुई दशकसम्म अलपत्र परेको कर्णाली करिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो सडकखण्डले तीव्रता पाएको हो । २०५६ सालमा शिलान्यास गरिएको यो करिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैले गर्ने तयारी गरिरहेको थियो । तर कालिकोट र हुम्लाका अधिकांश भागमा ठूलठूला चट्टान र पहराका कारण २०७१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको थियो । तर अझै पनि निमार्णाधीन सडकको निर्माण धेरै खण्ड सडक विभागले निजी क्षेत्रलाई जिम्मा दिएको छ । सिमीकोट खार्पुनाथ खण्डमा स्थानीयको विवादले निर्माण कार्य रोकिएको छ । निजी क्षेत्रसँग आवश्यक दक्ष जनशक्तिको अभाव हुँदा पनि काम प्रभावित भएको सव–इन्जिनियर अभिषेक राईले बताए ।

कर्णाली करिडोरको निर्माण तीव्र गतिमा भइरहँदा यस क्षेत्रका स्थानीयहरूमा खुशीसँगै चिन्ता पनि छ । कतिपय ठाउँका बस्ती मासिने तथा कतिपय ठाउँमा अझै पनि सडक सञ्जाल नपुग्ने लगायतका चिन्ता स्थानीयको छ । सिमिकोट गाउँपालिका–५ का अध्यक्ष कृष्णबहादुर बोहराले हिल्सा–सिमीकोट सडकखण्ड अन्तर्गत सडक विभागले कसैसँग समन्वय नगरी डीपीआर तयार गरेको र स्थानीयको खेतीयोग्य जमिन बस्ती समेत मासिने भएकाले आफूहरू समस्यामा परेको सिमीकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर बोहराले बताए ।

निजी क्षेत्रबाट निर्माण भइरहेको कतिपय ठाउँमा चट्याङ फोर्न सेनाको सहयोग लिनुपर्ने भएकाले पनि केही ढिलाइ भएको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए । उनले निजी क्षेत्रले सेनाको सहयोग लिँदा समय लाग्ने गरेको बताए । विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले भने त्यस क्षेत्रको समस्या पहिचान गरी समाधान गर्नका लागि कर्णाली करिडोरको स्थलगत निरीक्षणका लागि हुम्ला पुगेको बताइन् । उनले सडक निर्माणका क्रममा ढुवानीको समस्या, ब्लास्टिङको समस्या तथा स्थानीयको बस्ती प्रभावित हुने लगायतका समस्या रहेको पाइएको बताइन् । कर्णाली करिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिने छ । हिमाली क्षेत्र र जटिल भू–भागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरूले बताएका छन् ।

प्रकाशित मितिः   ६ पुष २०७६, आईतवार १०:२९