प्राइमको कारोबार करिब दुई अर्ब

सुर्खेत : प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले एक वर्षमा करिब दुई अर्ब बराबरको कारोबार गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा एक अर्ब ९७ करोड ६ लाख ५२ हजार रूपैयाँ कारोबार भएको संस्थाले शनिवार आफ्नो १९औं वार्षिक साधारणसभामा जानकारी दिएको छ ।
दुई हजार चार सय १४ जना शेयर सदस्य रहेको सहकारीको हालसम्मको कूल शेयर पूँजी दश करोड १४ लाख २५ हजार पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक करोड ७४ लाख ६६ हजारले बढी हो । कर्जा लगानीतर्फ पनि सहकारीले उल्लेख्य वृद्धि गरेको छ । आ.व. २०७५÷०७६ मा ४५ करोड ८१ लाख २३ हजार रूपैयाँ कर्जा लगानी गरिएको सहकारीका अध्यक्ष भूषणकुमार मानन्धरद्वारा साधारणसभामा पेश गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैबीच सभाले रिक्त रहेको सञ्चालक समितिको उपाध्यक्ष पदमा भक्तबहादुर ढकाललाई निर्विरोध निर्वाचित गरेको छ । सभामा उत्कृष्ट कर्मचारीतर्फ विश्वेश्वरप्रसाद देवकोटा, शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउने अनुजा पोखरेल र प्रकाश अधिकारी, उत्कृष्ट शेयर सदस्यमा पूर्णबहादुर वलीलगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका प्रबन्धक युवराज बस्नेतले जानकारी दिए ।
साधारणसभा संस्थाका अध्यक्ष भूषणकुमार मानन्धरको सभापतित्व एवम् कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ६ पुष २०७६, आईतवार १०:२७