मानवअधिकार उल्लंघन घटेन

सुर्खेत : सुर्खेतमा एक वर्षमा एक सय १० वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । राज्य तथा गैरराज्यका तर्फबाट उक्त घटनाहरू भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले शनिवार नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२० का लागि संकलित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रमको आयोजना गरी उक्त तथ्यांक सार्वजनिक गरेको हो । २०७५ को मंसिरदेखि हालसम्म एक सय १० वटा मानवअधिकार उल्लंघनका घटना भएका र त्यसबाट एक सय १७ जना पीडित भएको इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जानकारी दिए ।

यो अवधिमा राज्यपक्षबाट जम्मा नौ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् भने गैरराज्यको तर्फबाट एक सयभन्दा बढी घटना छन् । राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा सात जना गिरफ्तार र दुई जना कुटपिटमा परेको थापाले बताए । त्यस्तै गैरराज्यका तर्फबाट अपहरण एक, कुटपिटमा चार, बालअधिकार हनन्का आठ, भौतिक संरचना क्षतिसम्बन्धी तीन, अमानवीय व्यवहारका दुई, हत्या ६, महिलाअधिकार उल्लंघन ७८ वटालगायत घटना भएको इन्सेकले जनाएको छ । सबैभन्दा बढी महिलाअधिकार हनन्का घटना भएको तथ्यांकमा उल्लेख छ ।

समीक्षा कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले घटनाको अभिलेखीकरणमा इन्सेकले गरेको काम सह्रानीय भएको बताइन् । उनले भनिन् ‘यसले पीडितलाई थप प्रमाणको काम गर्दछ ।’ पीडितका पक्षमा राज्यपक्ष गम्भीर भएर लाग्नुपर्ने समेत उनको धारणा रहेको थियो । ‘घटना भएको जानकारी पीडितले राज्यपक्षलाई गराए पुग्छ’ उनले थपिन् ‘घटनाको छानविन गर्ने प्रमाण जुटाउने, दोषी र निर्दोषी ठहर गर्ने काम राज्यको हो ।’ कानुनको कार्यान्वयन जबसम्म पूर्णरूपमा हुन सक्दैन तबसम्म मानवअधिकार उल्लंघनका घटना दोहोरिरहने उनले बताइन् ।

त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानवअधिकार वर्ष पुस्तकले पीडितलाई थप प्रमाणको काम गर्ने बताए । उनले धेरै वर्ष अगाडि भएका घटना समेत मानवअधिकार वर्ष पुस्तकमा उल्लेख भएको भन्दै यसले न्यायिक निकायलाई समेत सघाउ पुगेको बताए ।

प्रकाशित मितिः   ६ पुष २०७६, आईतवार १०:२५