उद्यमीलाई प्रोत्साहन

कर्णालीमो ठूलो उद्योगहरु छैनन् । केही मात्रामा लघु तथा घरेलु उद्योग छन् । हिमाली क्षेत्रमा हातले बनेका राडीपाखी उत्पादन गर्नेदेखि कृषि उत्पादन, फलफूल खेति, पशुपालन लगायतका उद्यममा यहाँका नागरिक आवद्ध छन् । तर तिनै लघु तथा घरेलु उद्योगहरु पनि पूर्णरुपमा संस्थागत हुन सकेका छैनन् । यसका अनेक समस्या छन् । जसमध्ये बजारीकरण प्रमुख समस्या बनेको छ । कर्णालीमा उत्पादन गरिएका वस्तुहरुले बजार नपाउँदा उद्यमीहरु निरुत्साहित भएका छन् । कतिपयले जसोतसो उद्यम सञ्चालन गरेपनि मेहेनत अनुसारको प्रतिफल भने प्राप्त गर्न सकिरहेका छैनन् ।

उद्यम अपरिहार्य छ । नागरिकको आर्थिक जीवनस्तर सुधारका लागि उद्यमको भूमिका महÔवपूर्ण हुन्छ । सँग–सँगै यो मुलुककै अर्थतन्त्रको अभिन्न अंग पनि हो । देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सृजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ । तर कर्णाली प्रदेशमा उद्योगको जग नै धेरै सानो छ । मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन । लगानी गरेर पर्खने धैर्यता छैन । उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता छैन । त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन् । उद्ययोग सञ्चालन गर्न निक्कै उन्नत स्तरको व्यवस्थापकिय क्षमता चाहिन्छ । उद्यम भनेको अर्को अर्थमा इलम पनि हो । उद्यमीले आफूले मात्रै पैसा कमाएका होइनन् धेरैलाई रोजगारी दिएका छन् । राज्यलाई कर तिरेका छन् । एउटा उद्यमी सफल भए त्यसले आफूलाई मात्रै होइन समाज र देशकै भलो गरिरहेको हुन्छ । त्यसै कारण उद्यम र उद्यमीको विकासका लागि राज्यले ध्यान दिनुपर्छ । तब मात्रै वास्तविक रुपमा देश विकास हुन्छ ।

उद्यम भनेको ठूलठूला उद्योग र कलकारखाना मात्रै होइन । जीविकोपार्जनका लागि गरिने ब्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन् । उद्यमको शुरुवात जीविको पार्जन गर्न कै लागि हुन्छ । तर जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनसम्म मात्रै सीमित हुँदैन । त्यसले अरुअरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ । कारोबार बढाउदै जान्छ । धेरैलाई रोजगारी दिने क्षमता राख्छ । राज्यलाई कर तिरेर धनी बनाउछ । त्यसैले साचो अर्थमा उद्यम विकासबिना देश विकास हुँदैन । देश विकासमै महत्वपूर्ण योगदान दिनसक्ने उद्यम र उद्यमीलाई प्रोत्साहन गर्नेतर्फ राज्यको ध्यान पुग्न अपरिहार्य छ । जबसम्म राज्यले उद्यममा लगानी गर्न प्रोत्साहन गर्नुका साथै उत्पादनहरुको बजारिकरणमा सहयोग गर्दैन तबसम्म उत्पादनमुखि उद्योगको विकास हुँदैन ।