पुस २० मा नेकपा केन्द्रीय समिति बैठक
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार पुस २० गतदेखि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । उनले भने, ‘अबको १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ ।’ नेकपाका अध्यक्षद्वयले माघमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरे पनि स्थायी समिति सदस्यहरूले केन्द्रीय समिति बैठकको माग गरेपछि पुस २० गते नै बैठक बोलाइएको हो ।
पार्टी एकतापछि नेकपाले पहिलो पटक एजेण्डामाथि छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागेको हो । यसअघि सपथ ग्रहण र परिचयात्मक कार्यक्रममा केन्द्रीय समितिका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो । नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने तयारी गरेको छ । नेकपामा ४ सय ४५ जना केन्द्रीय सदस्य छन् । जारी स्थायी समितिको बैठकमा शनिवार महासचिव विष्णु पौडेलले बोलेका थिए । यसैबीच नेकपाको केन्द्रमा मात्र उपाध्यक्ष रहने भएको छ । साथै सचिवालय पनि विस्तार नहुने भएको छ । बिहीवारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केन्द्रमा उपाध्यक्ष पद सिर्जना गर्ने र वामदेव गौतमलाई जिम्मेवारी दिने प्रस्ताव पेश भएको थियो । तर, नेताहरूले केन्द्रमा उपाध्यक्ष राख्ने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग गरेका थिए ।
प्रकाशित मितिः ६ पुष २०७६, आईतवार १०:२१
साझा बिसौनी ।