सभामुख चयन पुस दोस्रो साता

काठमाडौं : प्रतिनिधिसभाको रिक्त सभामुख पदपूर्ति प्रक्रिया पुस ११ गते मात्रै थालिने भएको छ । शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते दिउँसो १ बजे बस्ने संसदको बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसैबीच संघीय संसदको हिउँदे अधिवेशन शुक्रवारबाट सुरु भएको छ । शुक्रवार प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेकी उप–सभामुख शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि अधिवेशन औपचारिक रूपमा आरम्भ भएको हो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम संघीय संसदका दुवै सदनको बैठक आरम्भ भएको व्यहोराको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई उप–सभामुख तुम्बाहाम्फेले पढेर सुनाइन् । त्यसैगरी, शुक्रवार नै राष्ट्रियसभाको बैठकमा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन अह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

प्रतिनिधिसभाको वैठक शुक्रवारबाट सुरु भएपनि पुस ११ गते बस्ने बैठकबाट सभामुख चयनका लागि औपचारिक प्रक्रिया अघि बढाइने भएको हो । अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेपछि उप–सभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति भएको जनाइएको छ । प्रतिनिधिसभा बैठकको अध्यक्षता पनि उनले नै गर्ने भएकी छिन् । सभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता उप–सभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले गर्ने प्रावधानले यसअघि अन्योल सिर्जना गरेको थियो । उप–सभामुखले अध्यक्षता गर्ने विषयमा सबै पार्टीको सहमति जुटेको छ ।

प्रकाशित मितिः   ५ पुष २०७६, शनिबार १०:११