नेतृत्व छान्न होटल व्यवसायी सुर्खेतमा

सुर्खेत : नयाँ नेतृत्व चयनका लागि देशभरका होटल व्यवसायीहरू सुर्खेतमा जम्मा भएका छन् । होटल व्यवसायी महासंघको तेस्रो महाधिवेशन शुक्रवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार दुई सय भन्दा बढी व्यवसायीहरू सहभागि छन् । उनीहरूले महासंघको आगामी नेतृत्व छनौट गर्दैछन् । केन्द्रीय कार्यसमितिको पदाधिकारीसहित ६५ जना सदस्य यस महाधिवेशनबाट निर्वाचित हुने होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाहीले जानकारी दिए । सकेसम्म सहमतिबाटै महासंघको नयाँ समिति चयन गर्ने तयारी भएको भन्दै उनले सहमति जुट्न नसके निर्वाचनमार्फत छनौट हुने जनाए ।

कर्णाली प्रदेशका पर्यटकीय स्थलहरूलाई प्रचार–प्रसार गर्नको लागि महासंघको अधिवेशन सुर्खेतमा सञ्चालनमा गरिएको हो । कार्यक्रमको उद्घाटनपश्चात् कर्णालीको पर्यटन विकास सम्बन्धी अन्तरक्रिया समेत गरिएको छ । साथै अधिवेशनमा आउने देशभरका प्रतिनिधिरुहलाई कर्णाली प्रदेशका प्रख्यात पर्यटकीय स्थलहरूमा समेत अवलोकन गराउने कार्यक्रम रहेको शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   ५ पुष २०७६, शनिबार १०:०२