औद्योगिक व्यापार महोत्सव सुरु

सुर्खेत : घरेलु तथा साना उद्योग विकास महासंघ कर्णाली प्रदेशले आयोजना गरेको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार महोत्सवको उट्घाटन गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको महोत्सवमा प्रदेशका दशवटै जिल्लामा उत्पादन गरिएको विभिन्न कृषिजन्य तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शनीमा राखिएको महासंघका अध्यक्ष चन्द्रबहादुर बिसीले जानकारी दिए । मेला आगामी दश गतेसम्म सञ्चालनमा आउने उनले बताए । कर्णाली प्रदेशका अर्गानिक उत्पादनहरूको प्रचार–प्रसारको लागि मेलाको आयोजना गरिएको बिसीको भनाइ छ ।

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको अर्गानिक उत्पादनलाई सबै क्षेत्रले बजारीकरण गर्नुपर्ने बताए । उनले अर्गानिक उत्पादनलाई प्रदेश सरकारले प्रोत्साहनका कार्यक्रम ल्याएको समेत जानकारी दिए । उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीको समेत उपस्थिति रहेको थियो । मेलामा कर्णालीको उत्पादन मार्सी धान, सल्यानी सुन्तला, कालो चामल, राडिपाखी, मह लगाएतका कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ ।