कक्षाकोठामा जनप्रतिनिधि

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर–१२ स्थित हस्तवीर सामुदायिक आधारभूत विद्यालयमा पठनपाठनको कार्य चलिरहेको थियो । शिक्षकहरू आफ्नो कर्ममा लागेका थिए भने विद्यार्थीहरू शिक्षककै कामलाई नै पच्छ्याइरहेका थिए । केही अभिभावक आफ्ना छोरा–छोरीको पठनपाठनबारे बुझ्न विद्यालयमै पुगेका थिए । त्यतिनै बेला टुप्लुक्क कक्षा कोठामै पुगिन्, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल ।

ढकालसँगै थिए, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसे, नगरपालिकाको सामाजिक विकास समिति संयोजक यमुना नेपाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद पौडेल । केहीबेर विद्यार्थी र शिक्षक अलमलमा परे । उप–प्रमुख ढकालले नआत्तिएर पठन–पाठन गर्न विद्यार्थी र शिक्षकलाई आश्वस्त पारिन् र भनिन्, ‘तपाईंहरूले कसरी पढिरहनुभएको छ ? कसरी पढाइरहनुभएको छ ? विद्यालयको अवस्था के छ ? भनेर हेर्न आएँ म त ।’ त्यतिनै बेला विद्यालयका प्रधानाध्यापक धनबहादुर ढेङ्गामगरसहित केही कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले जनप्रतिनिधिहरूलाई स्वागत गरे ।

बाल विकासदेखि कक्षा ६ सम्म सञ्चालन गरिएको हस्तवीरमा पाँच सय ९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विशेषगरी इत्रामखोला आसपासका सुकुम्बासी समुदायका बालबालिकाले पढ्ने र प्रदेशकै धेरै विद्यार्थी भएको विद्यालय भएकाले आफूहरूले अनुगमन गरेको उप–प्रमुख ढकालले बताइन् । जनप्रतिनिधिहरूले विद्यालयभित्रको पठनपाठन, विद्यार्थीको बसाइँ व्यवस्थापन, भौतिक संरचना लगायतको अनुगमन गरेका छन् । अनुगमनपछि भएको छलफलमा विद्यालयको बाल क्लबका सचिव कक्षा ६ का विद्यार्थी रत्नबहादुर बुढाले आफूहरूलाई कम्प्यूटर कक्षा अध्ययन गर्ने भवन नभएकाले सहयोग गर्न जनप्रतिनिधिहरूसँग माग गरे । अहिले कम्प्युटर ल्याव राख्ने ठाउँ नहुँदा कम्प्युटर विषय पढ्दा अभ्यास गर्न नपाइएको उनको गुनासो थियो । त्यसलगत्तै वडा अध्यक्ष चालिसेले विद्यार्थीको चापअनुसार भौतिक संरचना निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने बताए । छलफलका क्रममा उप–प्रमुख ढकालले विद्यालयलाई भौतिक संरचनामा परिपक्व बनाउन आफूहरूले सहयोग गर्ने बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौड्यालले अर्को शैक्षिक सत्रदेखि कक्षा ७ र त्यसपछि कक्षा ८ पनि सञ्चालन गर्ने गरी तयारी भएको जानकारी दिए ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १४:०२