महरालाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौं : बलात्कारको प्रयास गरेको आरोप लागेका प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको छ । संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलाशले यस्तो आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंकोे आदेशले महरा थुनामा थिए । यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो । बिहीवारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय गरेको हो ।

संसद् सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो । सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लवनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए । उच्चले जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाइ गरेको छैन । तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो । महराविरुद्ध बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ । उनले आफू बलात्कारका लागि नभइ सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् ।

महराले आरोपीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबीसमेतदबयानदेखि नै गर्दै आएका छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । महराको पक्षमा रमण श्रेष्ठ, सावित्री भण्डारी, शेरबहादुर केसी, भोजराज आचर्य र लव मैनालीले बहस गरेका थिए भने रोशनी शाहीका तर्फबाट युवराज श्रेष्ठले बहस गरेका थिए । यस्तै, सरकारका तर्फबाट २ सरकारी वकिलले बहस गरेका थिए । इजलाशले रोशनीको पनि बयान लिएको थियो ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १३:५९