तीन दिनदेखि सञ्चारविहीन डोल्पा

डोल्पा : डोल्पामा विगत तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मंगलवार दिउँसोदेखि टेलिफोन सेवा ठप्प भएको हो । जिल्ला सदरमुकाम दुनै, जुफाल, खदाङ् लगायतका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावर सञ्चालन नभएपछि इन्टरनेट तथा टेलिफोन सेवा ठप्प भएको छ । ‘मंगलवार दिउँसोदेखि नचलेको मोबाइलको टावर अझै आएको छैन्, दुर्गमलाई सुगमसँग जोड्ने टेलिफोन सेवानै नभएपछि समस्या भएको छ’ त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले भने । मंगलवारदेखि डोल्पामा ल्याण्डलाइन टेलिफोन, नमस्ते र स्काईको मोबाइल सेवा, ए.डी.एस.एल. इन्टरनेट सेवा लगायतको कुनै पनि सञ्चार सेवा छैन । अवरुद्ध टावर पुनः सञ्चालनमा ल्याउन विभिन्न ठाउँको टावरहरू जाँच गर्ने काम भइरहेको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले बताए ।

जुम्ला–डोल्पा र जुम्ला–कालिकोटको सीमावर्ती क्षेत्रमा राखिएको माइक्रोवेभ टावरहरूमा समस्या आएको हुन सक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । मोबाइल सेवासँगै इन्टरनेट सुविधासमेत बन्द भएपछि विभिन्न स्थानीय तह र सदरमुकाम दुनैस्थित सरकारी तथा गैह्रसरकारी कार्यालयको कामकाज ठप्प भएको छ ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १३:५७