हिंसा प्रतिकार गर्न बालबालिकालाई सुझाव

कालिकोट : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिंसाको प्रतिकार गर्न बालबालिकालाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको बालविवाह, बालहिंसा, लागूऔषध दुव्र्यसन, लैंङ्गिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका तथा सम्पर्क शिक्षकलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले बालविवाह, बालहिंसा, लागूऔषध दुव्र्यसन, लैंङ्गिक हिंसा, छाउपडी प्रथा, जातीय विभेदजस्ता सामाजिक अपराध अन्त्यका लागि प्रदेश सरकार पनि लागिपरेको बताउँदै यस्ता अपराधको शिकार कोही कसैले नहुन र हिंसा सहेर नबस्न बालबालिकालाई आग्रह गरे । उनले भने, ‘आजका बालबालिका भोलि मुलुक हाँक्ने व्यक्ति हुन् । तपाईंहरू सचेत हुनुहोस् । हिंसाविरुद्धमा खुलेर बोल्नुस् । सरकार बालबालिकाको संरक्षण, बाल अधिकारको प्रत्याभूति गर्न तयार रहेको उनले बताए ।

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका जम्मा ४२ वटा माध्यमिक विद्यालयका ८४ जना बालबालिका तथा ४२ जना सम्पर्क शिक्षकलाई सामाजिक अपराधविरुद्धको अभियानमा अभियन्ताका रूपमा परिचालन गर्ने जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीले बताए । उनका अनुसार सामाजिक अपराधविरुद्ध अभियानका लागि प्रहरीले बालविवाह र सामाजिक अपराध न्यूनीकरण सम्बन्धी माध्यमिक विद्यालयका सम्पर्क शिक्षक तथा विद्यार्थीलाई अभिमुखीकरण गर्न थालेको छ ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी ओलीयाले सामाजिक अपराध तथा मुलुकी देवानी तथा फौजदारी (संहिता) २०७४ ले व्यवस्था गरेका विवाहसम्बन्धी व्यवस्थाका विषयमा बालबालिकालाई जानकारी दिँदै गाउँमा अपराधको सुईको पाए प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले प्रहरी मात्र सक्रिय भएर गाउँमा हुने सबै किसिमका अपराध कानुनी दायरामा ल्याउन नसकिने बताउँदै यसमा बालबालिकाले सहयोग गरी प्रहरीलाई खबर गर्नका लागि १०० मा कल गर्न सुझाव दिए । जिल्लामा प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गाउँ–गाउँ, घर–घरमा प्रहरी आउने बताउँदै अपराध न्यूनीकरणका लागि बालबालिका, शिक्षक, बुद्धिजीवी तथा स्थानीय नागरिकको सहयोगको अपेक्षा गरिएको उनले बताए । उनले भने, ‘गाउँमा कसैले घरेलुहिंसा गरे, बालविवाह गरे, बहुविवाह, लागूऔषध सेवन, घरेलु मदिरा, झैं–झगडा, बालश्रम, बाल यौन दुव्र्यवहार गरे सिधै प्रहरीलाई खबर गर्न १०० मा कल गर्नुहोला ।’

सेभ द चिल्ड्रेनका बाल संरक्षण कार्यक्रम संयोजक बाले विश्कर्माले बालबालिकाको परिचय र जिल्लामा बालविवाहको अवस्था, जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले मुलुकी देवानी तथा फौजदारी, (संहिता) २०७४ ले व्यवस्था गरेका विवाहसम्बन्धी व्यवस्था, कानुन व्यवसायी हिक्मतबहादुर विष्टले बालविवाह र बालबालिकाविरुद्ध हुने हिंसासम्बन्धी कानुनी व्यवस्था, लागूऔषध दुव्र्यसन, लैंङ्गिक हिंसालगायतका सामाजिक अपराधका बारेमा अभिमुखीकरण गर्दै विद्यार्थी र शिक्षककै सक्रियतामा बाल संरक्षण र सामाजिक अपराध न्यूनीकरण हुने बताए । जिल्लालाई अपराधमुक्त बनाउनका लागि सबै सरोकारवाला निकायको ऐक्यबद्धताको खाँचो रहेको बताउँदै यसका लागि सबैको सहयोगको खाँचो रहेको औंल्याए ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १३:५५