पुल नबन्दा जोखिमपूर्ण यात्रा

13820610_1121484541231358_1565445927_nसाझा बिसौनी संवाददाता
सुर्खेत, ४ साउन ।
भेरी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको दुई वर्ष बितिसक्यो । तर अहिलेसम्म पनि अर्को पुल निर्माण नहुँदा हरिहरपुरवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पुल निर्माणमा भएको ढिलाइले गर्दा यहाँका नागरिकको ज्यान जोखिममा परेको छ ।
दुई वर्षअघि भेरीमा आएको बाढीले झोलुङ्गे पुल नै बगाएर लगिदियो । पुल बगाएपछि स्थानीयवासीले डुङ्गा प्रयोग गर्दै आएका छन् । तर वर्षायामको भेलमा डुङ्गाको यात्रा अत्यन्तै जोखिमपूर्ण हुने उनीहरू बताउँछन् । तर अर्को विकल्प नहुँदा उनीहरू साउनको उर्लंदो भेलमा पनि डुङ्गा खियाउँदै भेरी नदी वारपार गरिरहेका छन् । ‘विभिन्न काम परेर सदरमुकाम वीरेन्द्रनगर आइरहनुपर्दछ’ भेरी माध्यमिक विद्यालय हरिहरपुरका प्रधानाध्यापक रत्नबहादुर बुढाले साझा बिसौनीसँग भने, ‘नदी तर्नका लागि एउटा झोलुङ्गे पुल थियो त्यो पनि बाढीले बगाएर लगिदियो अब फेरि डुङ्गामा त्रासपूर्ण यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ ।’
उक्त स्थानमा अर्को झोलुङ्गे पुल निर्माणका लागि काम सुरु नै नभएको भने होइन । तर निर्माण कार्य अपेक्षाकृत रूपमा अघि नबढेको स्थानीयहरूको गुनासो छ । स्थानीय नागरिहरूका अनुसार गत माघदेखि नै झोलुङ्गे पुल निर्माणका काम सुरु भएको थियो । तर कामदारहरूले समयमा पैसा नपाएको भन्दै काम अवरुद्ध पारे । त्यसपछि लामो समयसम्म पुल निर्माणको काम अघि बढ्न सकेन । स्थानीयवासीले पटक–पटक सम्बन्धित निकाय र हेलो सरकारमा समेत यसबारे जानकारी गराएपछि निर्माणको जिम्मा लिएका ठेकेदारले पुनर्निर्माण कार्य थाले । तर अहिले उक्त काम पनि रोकिएको स्थानीयले बताएका छन् ।
भेरी नदीमा हाल ¥याफ्टिङ्गमा प्रयोग हुने डुङ्गा सञ्चालन गरिएको छ । नदी तर्न उक्त डुङ्गामा प्रतिव्यक्ति ४० रूपैयाँ तिर्नुपर्ने हुन्छ । यो शुल्क पनि अत्यन्तै महङ्गो भएको गुनासो स्थानीयको छ । ‘विभिन्न काममा वारपार गरिरहनुपर्नेहरूका लागि प्रत्येक पटक ४० रूपैयाँ तिर्नु अत्यन्तै महङ्गो शुल्क हो’ प्रधानाध्यापक बुढाले भने । बुढाका अनुसार भेरीमा पुल नभएकै कारण विद्यालयले यस पटक लामो वर्षे बिदा गर्नुपरेको छ । असार २६ देखि भदौ १२ सम्मलाई वर्षे बिदा दिएर विद्यालय बन्द गरिएको उनले जानकारी दिए । अहिलेको लामो बिदालाई दसैं र तिहारको बिदाको समयमा विद्यालय सञ्चालन गरेर पूर्ति गर्ने तयारी विद्यालयले गरेको छ । ‘भेरीमा पुल बनेको भए यति लामो वर्षे बिदा गर्नुपर्दैन थियो’ उनले भने, ‘वर्षाको समयमा नदीमा ठूलो भेल आउने हुनाले बालबालिकाहरूलाई जोखिममा पारेर विद्यालय सञ्चालन गर्न नसकिएको हो ।’
यहाँका अभिभावकहरूले मात्र होइन विद्यार्थीहरूले पनि विगत दुई वर्षदेखि भेरीमा पुल नहुनुको समस्या खेप्दै आएका छन् । बाढीले भेरी नदीमा रहेका झोलुङ्गे पुल बगाएदेखि त्यहाँका विद्यार्थीहरू आफ्नो ज्यान नै जोखिममा राखेर हरेक दिन स्कुलमा आउने र जाने गरिरहेका छन् । स्कुलसम्म पुग्नका लागि नदीमा पुल नहुँदा उनीहरूलाई डुङ्गा चढ्नुबाहेक अर्को कुनै विकल्प छैन । जसका कारण विद्यार्थीहरू आँखा चिम्लेर डुङ्गामार्फत् नदी वारपार गरेर विद्यालयबाट ज्ञान आर्जन गर्न बाध्य भएका हुन् ।
असारभरी विद्यार्थीहरूले यस्तै जोखिम मोलेर विद्यालय गए । आगामी भदौ १२ देखि फेरि विद्यालय सञ्चालन हुन्छ । तर वर्षात् कायमै रहने हुनाले भदौमा पनि उही जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीहरू त्रसित बनेका छन् । हरिहरपुरको डोप्का, सिस्नेरी, थापाडेरा र गिरीघाटमा रहेको विस्थापित शिविरका विद्यार्थीहरूलाई भेरी माध्यमिक विद्यालयमा जान बीचमा भेरी नदी तर्नैपर्ने बाध्यता छ ।
विगत दुई वर्षदेखि यहाँका विद्यार्थी र अभिभावकले नदी नहुनुको पीडा भोगिरहेका छन् । असार लागेसँगै वर्षात् सुरु भयो । अहिले भेरीमा विस्तारै पानीको सतह बढ्न थालेको छ ।
‘नदीमा पुल नहुँदा विद्यार्थीको पढाइ बिग्रिने भयो, असारदेखि असोजसम्म विद्यार्थी स्कुलमा आउन सक्ने सम्भावना छैन’ बुढाले गुनासो गरे । विद्यार्थी र शिक्षकहरूले ज्यान नै जोखिममा राखेर विद्यालय पुग्नुपर्ने बाध्यता भएको भन्दै प्रअ बुढाले यसतर्फ कसैले चासो नदिएको दुखेसो समेत पोखे । उनले थपे, ‘त्यति धेरै विद्यार्थीलाई छात्रवासमा राख्ने सम्भावना छैन, भेरीमा पानी बढेपछि विद्यार्थी घरबाट आउन सक्ने अवस्था हुँदैन । तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने हुन्छ, यसो गर्दा विद्यार्थीको पढाइमा घाटा हुन्छ ।’ जतिसक्दो छिटो पुल निर्माण गरेर सहज बनाइदिन हरिहरपुरवासीले माग गरेका छन् ।

प्रकाशित मितिः   ५ श्रावण २०७३, बुधबार १०:०४