रिस फेर्न अख्तियारमा उजुरी

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ साउन ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत र कोहलपुरमा रहेको कार्यालयमा बितेको वर्ष एक हजार भन्दा बढी उजुरीहरू दर्ता भए । एक वर्षको अवधिमा सुर्खेतमा ६ सय ५० वटा र कोहलपुरमा पाँच सय एक उजुरी दर्ता भए । अनुसन्धान गर्दै जाँदा तथ्य भन्दा पनि अधिकांश उजुरीहरू व्यक्तिगत रिस फेर्ने उद्देश्यले दर्ता भएको पाइयो ।
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग पछिल्लो समय व्यक्तिगत रिस फेर्ने माध्यम बन्न थालेको छ । तथ्य र प्रमाणको आधारमा नभइ व्यक्तिगत रिस फेर्नका लागि उजुरी दिनेको संख्या बढ्दै जान थालेको छ । जसका कारण हिजोआज अख्तियारका कर्मचारीहरू समेत हैरान भएका छन् । कार्यालयमा दिनहुँ उजुरी आउने तर तिनको प्रमाण नजुट्दा कर्मचारीहरू हैरान बनेका हुन् । झुठ्ठा उजुरीका कारण आफूहरूलाई काम गर्न कठिन भइरहेको सुर्खेतमा रहेको अख्तियारको कार्यालयले जनाएको छ ।
अख्तियारको सुर्खेतस्थित कार्यालयका प्रमुख सीताराम कार्कीले व्यक्तिगत रिसिबीका कारण उजुरी दिनेक्रम बढेको बताए । उनले भने, ‘गाउँमा विकास आयोजना जान्छ, त्यसमा भागवण्डा मिल्दैन । त्यसपछि मान्छेहरू उजुरी गर्न आउँछन्, प्रमाण भन्दा पनि रिस फेर्न उजुरी दिइन्छ ।’ पछिल्लो एक वर्षको अवधिमा दर्ता भएका उजुरी मध्ये अधिकांश उजुरीहरू व्यक्तिगत रिसिबी साध्ने उद्देश्यले दर्ता भएको भेटिएको उनको भनाइ छ । ‘कार्यालयमा उजुरीको चाङ नै लाग्यो, हामीले अनुसन्धान गर्दै गयौं’ कार्कीले भने, ‘मन मिल्दासम्म सबै चुप बस्छन्, जब कुरा मिल्दैन तब अख्तियारमा आउँछन् । रिस फेर्न र चरित्र हत्या गर्नकै लागि मान्छेहरूले उजुरी दिन थाले, जसले गर्दा अनुसन्धानमा धेरै उजुरीका प्रमाण नै भेटिदैंनन् ।’ व्यक्तिगत रिसिबी र चरित्र हत्या गर्न उजुरी दिनेक्रम बढेपछि अनुसन्धानमा अनावश्यक समय खर्च हुने गरेको उनले बताए । झुठ्ठा उजुरीकै कारण मुद्दाको संख्या धेरै देखिए पनि कामको प्रगति भने कम देखिने गरेको कार्कीको भनाइ छ ।
बितेको आर्थिक वर्षमा अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालयले ११ जनालाई रंगेहात पक्राउ गर्न सफल भएको छ । उनीहरूलाई विभिन्न स्थानमा सेवाग्राहीबाट घुस लिँदै गर्दा समातिएको अख्तियारले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता जंगबहादुर डाँगीले एक वर्षको अवधिमा कार्यालयमा दर्ता भएका उजुरीमध्ये ८१ प्रतिशत उजुरी फछ्र्यौट गरिएको बताए । उनका अनुसार सबैभन्दा बढी उजुरीहरू शिक्षा क्षेत्रका आउने गरेका छन् । व्यक्तिगत रिस फेर्नका लागि गलत आरोप र उजुरी आउने गरेको बताउँदै उनले भने, ‘यो अवधिमा हामीले १३ जनाविरुद्ध अदालतमा मुद्दा चलाएका छौं, अनुसन्धानको क्रममा एक करोड रकम पनि असुल गरेका छौं ।’ यस्तै यो क्षेत्रमा सबैभन्दा बढी उजुरी बाँके, सुर्खेत र दाङबाट दर्ता भएका छन् । प्यूठान, डोल्पा र कालिकोटबाट कम उजुरी आउने गरेको कार्यालयको भनाइ छ । अख्तियारको नाम सुन्दा मान्छेहरू त्रसित हुने
गरेको भन्दै प्रवक्ता डाँगीले गलत र रिसिबी साध्न दिइने उजुरीले यो समस्या निम्त्याएको बताए । यसअघि मध्यपश्चिम क्षेत्रका १५ जिल्लाभर भ्रष्टाचार र अनियमिताको छानविन गर्दै आएको सुर्खेतमा रहेको अख्तियारको कार्यालयले अब यस क्षेत्र नौ जिल्लाहरू मात्र हेर्ने भएको छ । यस्तै कोहलपुरमा रहेको सम्पर्क कार्यालयले बाँकी ६ वटा जिल्लालाई हेर्नेछ । शिक्षा, स्थानीय निकाय र वनसँग सम्बन्धित निकायबाट बढी उजुरीहरू आउने गरेका छन् । यी निकायहरूको सञ्जाल गाउँ तहसम्म भएका कारण र बजेट पनि धेरै हुने भएकाले बढी उजुरी आउने गरेको अख्तियारको भनाइ छ । अख्तियारको सुर्खेतस्थित कार्यालयका प्रमुख सीताराम कार्की भन्छन्, ‘पछिल्लो समय त उजुरी दिनेको लर्को नै लागेको छ भन्दा हुन्छ, स्कुलमा व्यवस्थापन समितिमा कुरा मिल्दैन अख्तियारमा आयो । उपभोक्ता समितिमा फरक दलको मान्छे हुँदा पनि उजुरी दिन्छन् । यसले हामीलाई काम गर्न समस्या बनाएको छ ।’ सहमति हुँदासम्म मिलेर दुरूपयोग गर्ने तर विमत्ति भएपछि मात्र उजुरी दिन आउने संस्कार बढ्दै गएको उनको भनाइ छ । पछिल्ला दिनमा तथ्य र प्रमाण भन्दा पनि आफ्नो रिस फेर्न उजुरी दिनेहरूको संख्या बढेको अख्तियारले जनाएको छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७३, मंगलवार ०९:५४