नेकपाभित्र उम्मेदवारमा अन्यौल
काठमाडौं : संसद्को हिउँदे अधिवशेन शुक्रवारदेखि सुरू हुँदैछ । प्रतिनिधिसभामा यो अधिवेशनको पहिलो एजेण्डा नै सभामुख चयन हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले भने सभामुखका लागि अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । पार्टीको जारी स्थायी समिति बैठकमा पनि सदस्यहरूले सभामुखको विषय धेरै लम्ब्याउन नहुने भन्दै छिट्टै टुंग्याउन शीर्ष नेतालाई अनुरोध गरेका छन् । तर शीर्ष तहमा सभामुख कसलाई बनाउने विषयमा कुरा नमिल्दा सभामुखको चुनाव कहिले हुन्छ तय भएको छैन । नेकपाका विभिन्न नेताहरूका अनुसार प्रधानन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्नेबारे धेरै पटक कुरा भए पनि सहमति जुटिसकेको छैन । यसैबीच शीतल निवासले पनि सभामुखमा उप–सभामुख शिवमाया तुम्बाहाम्फेलाई नै बढुवा गर्न ठीक हुने विचार अघि सारेको छ ।
प्रधानमन्त्री ओलीले प्रचण्डसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने मत राखिसकेका छन् । ‘संसद् चुनौतीपूर्ण हुने संकेत देखिएका बेला अनुभव र क्षमता भएका नेम्वाङलाई नै सभामुख बनाऔं भन्ने प्रधानमन्त्रीको धारणा हो,’ ओलीनिकट एक नेताले भने । सरकार बनाउँदाताका शक्ति बाँडफाँट गर्दा पूर्व माओवादी केन्द्रलाई सभामुख परेकोले सभामुख आफूहरूले पाउनु पर्ने अडान पूर्व माओवादी पक्षको छ ।’ पार्टी एकता भइसकेको छ । तर महाधिवेशनसम्म हामी दुई पक्षजस्तो देखिएका छौं । यथार्थ पनि त्यही हो,’ नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटाले भने, ‘त्यसैले सभामुखमा हाम्रो दावी स्वभाविक हो । निर्णय भने पार्टीले नै गर्ने हो ।’ पूर्व माओवादीबाट सभामुखको प्रमुख दाबेदार सापकोटा नै हुन् । उनीसँगै देव गुरूङ र नेतृ पम्फा भुसालको पनि सभामुखमा दाबेदारी रहेको पूर्व माओवादी नेताहरू बताउँछन् । पार्टी अध्यक्ष प्रचण्डले भने यी तीनमध्ये कुनै एकको नाम खुलेर लिएका छैनन् । तर तीनमध्ये सापकोटा प्रचण्डका सबैभन्दा नजिक छन् । सशस्त्र युद्ध सुरू भएदेखि अहिलेसम्म उनले सधैं प्रचण्डलाई साथ दिँदै आएका छन् । पार्टी विभाजित हुँदा गुरूङ र भुसाल मोहन वैद्यसँगै गएका थिए । पछि रामबहादुर थापाको नेतृत्वमा उनीहरू माउ पार्टीमा फर्किए । सापकोटालाई नै सभामुख बनाउने प्रचण्डको चाहना भएको नेकपाका कतिपय नेता नै बताउँछन् ।
कार्यकारी अध्यक्ष बनेपछि आफ्नै निवास खुमालटारमा भेटन पुगेका पूर्व माओवादी नेताहरूलाई प्रचण्डले सभामुखका लागि पूर्व एमाले र पूर्व माओवादी खेमा भनेर हेर्न नहुने बताएका थिए । ‘पूर्व एमालेका कतिपय साथीहरूले प्रचण्डले भनेको यही कुरालाई टिपेर हामीले सभामुखको दाबी छाडेको प्रचार गरिरहनुभएको छ’, एक पूर्व माओवादी नेताले भने, ‘त्यो सही होइन ।’ सभामुखमा आफ्नो दाबी नरहेको बताउँदै नेम्वाङले सो पदमा कसलाई उठाउने भनेर अन्तिम निर्णय गर्ने अधिकार भने पार्टीमै रहेको बताए । उप–सभामुख तुम्बाहाम्फेले पनि सभामुख पदका लागि आफ्नो दाबी छाडेकी छैनन् । स्रोतका अनुसार तुम्बाहम्फेले प्रधामन्त्री ओलीसँग यस विषयमा कुराकानी गरेकी थिइन् । ओलीले अर्का अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने जवाफ दिएका थिए । तुम्बाहाम्फेले प्रचण्डलाई सिधै भेटेकी त छैनन् तर उनले अनौपचारिक माध्यमबाट कुरा अघि बढाएकी छन् । स्रोतका अनुसार प्रचण्डले पनि हुन्न भन्ने जवाफ दिएका छैनन् । उनलाई सभामुखका लागि सबैभन्दा बलियो साथ भने राष्ट्रपति भण्डारीको रहेको छ । महिला उप–सभामुखलाई नै सभामुखमा पदोन्नति गर्दा राम्रो सन्देश जाने कुरा राष्ट्रपतिले नेताहरूलाई बताएकी छन् । यो अवधिमा तुम्बाहम्फेले राष्ट्रपति भण्डारीलाई पनि ३÷४ पटक भेट गरिसकेकी छन् ।
संवैधानिक राष्ट्रपति भए पनि भण्डारीको नेकपामा अझै ठूलो प्रभाव छ । केही समयअघि ओली र प्रचण्डबीचको विवाद सुलह गर्दा पनि दुवैले राष्ट्रपति भण्डारीलाई साक्षी राखेका थिए । सभामुख नेकपाले पाउन उप–सभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्छ । संविधानअनुसार सभामुख र उप–सभामुख एउटै पार्टीको बन्न मिल्दैन । उप–सभामुख तुम्बाहाम्फेले संसद् सुरू भएकै दिन राजीनामा दिने मनस्थिति बनाएकी छन् । सभामुख चयनमा सत्तारूढ दलका नेताहरू सहमतिमा पुगे उप–सभामुखले राजीनामा दिएर ज्येष्ठ सांसदले पुस ४ गते संसद्को बैठकको नेतृत्व गर्ने नेकपाका एक नेताले बताए । ‘सहमति जुटेन भने तुम्बाहाम्फेले नै केही दिन संसद् चलाउन पनि सक्नुहुन्छ,’ उनले भने । संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
प्रकाशित मितिः ३ पुष २०७६, बिहीबार १०:०२
साझा बिसौनी ।