“पत्रकारको सुरक्षा ग्यारेण्टी लिन्छाैँ”

सुर्खेत : कर्णालीका पत्रकारहरूको सुरक्षाको ग्यारेण्टी सरकारले लिने आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् । बुधवार सेतीबराह मिडिया सञ्चार क्लब सुर्खेतको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा आयोजित संघीयतामा कर्णालीका मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘मुलुकलाई संघीयतामा लैजान मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हो’ उनले भने ‘समाजको आवाज बुलन्द गराउनमा मिडियाको ठूलो भूमिका छ ।’ कर्णाली प्रदेशका मिडियाहरूले समेत कर्णालीको आवाज बोलेको उनले बताए ।

‘मिडियाकर्मी असुरक्षित भएका घटना हिजो र आज उस्तै छन्’, उनले थपे ‘कर्णालीका पत्रकारहरूको सुरक्षाको ग्यारेण्टी सरकारले गर्छ ।’ उनले पत्रकारहरूको लागि स्वास्थ्य बीमा र छात्रवृत्ति कार्यक्रम ल्याएकोे बताए । कर्णालीका मिडियालाई आर्थिक रूपमा समृद्ध बनानउको लागि लोककल्याणकारी विज्ञापन नीति समेत ल्याउने तयारी सरकारले गरेको उनले बताए । जसमा प्रदेशको विज्ञापन प्रदेशमै रहने गरी नीति निर्माण समेत गर्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले संघीयताले मिडिया क्षेत्रको विकेन्द्रीकरण गरेको बताए । उनले जसरी संघीयताले सबै क्षेत्रको विकेन्द्रीकरण गरेको छ त्यसैगरी प्रदेश सरकारले विज्ञापनलाई पनि प्रदेशकै मिडियामा रहने गरी नीति बनाउनुपर्ने बताए । ‘मिडियाले आवाजविहीनको आवाज बोलेको छ’ उनले भने ‘तर मिडिया आर्थिक रूपमा सशक्त हुन जरुरी छ ।’ प्रदेश सरकारले करोडौंको विज्ञापन बाहिर पठाउने नीतिलाई रोक्नुपर्ने धारणा गौतमले राखेका थिए ।

महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले संघीयतालाई सफल बनाउने कुरामा पहिलो भूमिका मिडियाको भएको बताए । उनले संघीयताले मिडिया र मिडियाकर्मीहरूलाई समेत लाभ पु¥याएको जिकिर गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक भानु अधिकारीले अध्ययन र अभ्यास दुवै गर्न सके पत्रकारितामाथि कसैले प्रश्न गर्न नसक्ने बताए ।

प्रकाशित मितिः   ३ पुष २०७६, बिहीबार ०९:५९