राजधानी सुधार

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । विगतको क्षेत्रीय सदरमुकाम समेत रहेको वीरेन्द्रनगरको विकास र भौतिक पूर्वाधारको अवस्था भने अझै पनि कमजोर नै छ । वीरेन्द्रनगर बजार क्षेत्रकै सडकभरी खाल्डाखुल्डी छन् । जसले दुर्घटनाको जोखिम निम्त्याउँदछ । जथाभावी सडक र घर निर्माण गरिएको छ । ढल व्यवस्थापन प्रभावकारी छैन । सडकका नालीहरु भरिएर बन्द गएका छन् । फोहोरको व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित हुन पुगेको छ । छाडा चौपायाका कारण सवारी आवागमनमा पनि उस्तै समस्या निम्तिएको छ ।

यी त केही उदाहरण मात्रै हुन् वीरेन्द्रनगर क्षेत्रभित्र यस्ता थुप्रै समस्याहरु छन्, जसले यसको सुन्दरता र स्वरुपमा कुरुपता थपेका छन् । उल्लेखित समस्याहरुको समाधानविना वीरेन्द्रनगरलाई प्रादेशिक राजधानीको रुपमा जसरी विकास गर्नुपर्ने हो त्यो नतिजा प्राप्त हुन सक्दैन । यद्यपि पछिल्लो समय केही सुधारहरु देखा परेका छन् ।

वीरेन्द्रनगरलाई देशकै नमुना र व्यवस्थित सहर बनाउने परिकल्पनासहित विभिन्न नीतिगत योजनाहरुसमेत पारित भएका छन् । तर कार्यान्वयन भने भएका छैनन् । राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि यहाँको सरसफाइमा समेत ध्यान दिन जरुरी छ । वीरेन्द्रनगरको विकासका लागि गर्नैपर्ने अर्को काम भनेको नगरको गुरुयोजना हो । गुरुयोजना बनाएर सोही अनुसार काम अघि बढाइयो भने त्यसले नगरको विकासमा सजिलो हुनेछ । अब गुरुयोजना अनुसार नै नगरलाई व्यवस्थित बनाउन आवश्यक छ । नगरभित्रका साँघुरा सडकलाई चौडा बनाउनेदेखि सडक नियमित मर्मत र सुधार गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन जरुरी छ । अर्कोतर्फ नगरपालिकाले सडक निर्माणको गुरुयोजना निर्माण गर्दै बस्ती विकासको योजना बनाएर जतिसक्दो छिटो लागू गर्न पनि आवश्यक देखिन्छ । यसले नगर क्षेत्रमा बढ्दै गएको अव्यवस्थित घर बनाउने कामलाई निरुत्साहित गर्नेछ । उल्लेखित योजनाहरु कार्यान्वयनमा ल्याउने हो भने वीरेन्द्रनगरको मुहार फेरिनुका साथै नमुना राजधानीको रुपमा वीरेन्द्रनगर स्थापित हुनेछ ।

प्रदेश राजधानीमा ध्यान दिनुपर्नेमध्येको अर्को पक्ष भनेको सरसफाइको हो । मानवजीवनका लागि सरसफाइ अत्यावश्यक छ । तर यही कुरा अझै पनि सबै नागरिकलाई बुझाउन र त्यसको बोध गराउन नसकिने विडम्बना हो । अहिले पनि सरसफाइको कमीकै कारण नागरिकहरुले ज्यान गुमाउनु परिरहेको छ । सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका रोगको संक्रमण विभिन्न समयमा विभिन्न ठाउँहरुमा फैलिने गरेको छ । यसले धन र जन दुवैको क्षति पु¥याउँछ । त्यसैले सरसफाइ अत्यावश्यक छ र यसतर्फ ध्यान दिन जरुरी छ । जुन स्थानीय र प्रदेश सरकार दुवैको दायित्व हो ।