नेकपा र राजपाबीच तालमेल


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधवार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरूबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका क्रममा चार सीटका लागि सहमति भएको छ ।

सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ । त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ । दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरूपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ ।

सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १९ जना सदस्यहरूको दुई वर्षे कार्यकाल सकिँदैछ । त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ । रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ ।

प्रकाशित मितिः   ३ पुष २०७६, बिहीबार ०९:५४