कालिकोटमा दश वर्षपछि मंसिरमै हिमपात

कालिकोट : कालिकोटमा झण्डै १० वर्षपछि मंसिर महिनामा भारी हिमपात भएको छ । झण्डै एक दशकदेखि मंसिर महिनामै हिमपात भएको थिएन । खडेरीका कारण जिल्लाको कृषि उत्पादनमा वर्षेनी ह्रास हुँदै आएको थियो । शुक्रवार भएको भारी वर्षासँगै हिमपातले जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । तर आइतवारदेखि पूर्णरुपमा मौसम सफा भएपछि स्थानीय युवायुवती हिउँसँग रमाइरहेका छन् ।

वर्षेनी मंसिर महिनामा अग्ला–अग्ला हिमालमा मात्र देखिने हिउँ यो वर्ष गाउँनै सेताम्मे भयो । अझै पनि लेकाली क्षेत्रमा हिउँले छाडेको छैन । हिउँ नपरेको तल्लो भेगका स्थानीय हिउँ खेल्नकै लागि लेकाली भेकमा जान थालेका छन् । जिल्ला सदरमुकाम मान्मबजार तथा आसपासका क्षेत्रबाट माथिल्लो लेकाली क्षेत्रमा दैनिकरुपमा हिउँ खेल्न जानेको लर्को नै लाग्ने गरेको छ । मंसिरमा हिमपात भएपछि किसानलाई ठूलो राहत भएको छ । गत असोज महिनादेखि जिल्लामा पानी नपर्दा किसानका पाखाबारी बाझै थिए । अब पानी रोकिएपछि पाखो बारीमा गहुँ छर्ने तयारीमा किसान छन् । वर्षेनी पर्दै आएको खडेरीका कारण निराश बनेका किसान यस वर्ष समयमै वर्षासँगै हिउँ परेपछि निकै खुशी छन् । समयमै परेको वर्षाका कारण हिउँदे बाली सप्रिने किसानको
अनुमान छ ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:३४