दैलेख सदरमुकाममा खानेपानी अभाव

दैलेख : जिल्ला सदरमुकाम नारायण नगरपालिकामा पाँच दिनदेखि खानेपानीको अभाव भएको छ । हिमपातसँगै रूख ढलेर नगरपालिका–१० मा पर्ने पिथिगौडी भन्ने स्थानमा खानेपानीको ट्रान्समिसन पाइपलाइनमा क्षति भएपछि पानी अभाव भएको नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दैलेखका कार्यालय प्रमुख राजन खड्काले बताए ।

उनले पानीको पाइपलाइन बनाउने काम भइरहेको बताए । खड्काका अनुसार अवरुद्ध भएको ठाउँमा अझै दुई फिटसम्म हिउँ जमेकाले काममा समस्या भएको हो । चार दिनअगाडि पठाएको ठोलीले पानी पास गराउन नसकेपछि आफूसहित अर्को प्राविधिक टोली उक्त ठाउँमा गएको उनले बताए । स्थानीयहरूले ५ दिनसम्म खानेपानीको अभाव भएको भन्दै आक्रोश पोखेका छन् । नारायण खानेपानी उपभोक्ता समिति दैलेखका कार्यालय प्रमुख राजन खड्काले पाइपलाइन मर्मत गर्न प्राविधिक टोली लागिरहेको र पानी कहिले आउँछ भन्न नसकिने बताए ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:२८