‘द्वन्द्वकालमा निक्कै चुनौती थियो’

 नारायण सुवेदी

बाँसगढी नगरपालिका–९ बर्दियामा जन्मिएका नारायण सुवेदी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक हुन् । वि.सं. २०३५ साल फाल्गुन ७ गते बुवा त्रिलोचन सुवेदी र आमा पार्वती सुवेदीको कोखबाट जन्मिएका उनी सामाजिक क्षेत्रमा प्रवेश गरेको २१ वर्ष भयो ।

गाउँघरमा जागिर त सरकारी नै खानुपर्छ भन्ने सोच भएकोले उनलाई सुरुमा सरकारी जागितर्फ आकर्षण बढ्यो । बुवा भारतीय सेना भएकोले उनलाई सेना बन्ने रहर पनि जाग्यो । तर एसएलसी उत्तीर्ण गरेपछि इन्सेकले सञ्चालन गरेको कमैया साक्षरता कार्यक्रममा उनी जोडिने मौका पाए । वि.सं. २०५५ सालबाट हालसम्म निरन्तर इन्सेकको विभिन्न तहमा काम गरेको अनुभव बटुलेका सुवेदीले मानवअधिकारको क्षेत्रमा काम गर्न पाउँदा बालापनको सपना भुलेको बताउँछन् । धेरै क्षेत्र अंगाल्नु भन्दा एउटै क्षेत्रबाट पीडितको घाउमा मलम लगाउन सक्नु जीवनको सफलता भएको बताउने नारायणले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनयात्रा यसरी साटेः

बुवाले केही वर्ष भारतीय सेनामा जागिर गरेर छोड्नु भयो । जागिर छोडेपछि बुवाआमाहरू कृषि नै गर्नुहुन्थ्यो । मैले भविष्यको लागि खासै ठूलो सपना त देखेको थिएन । तर गाउँघरमा सरकारी जागिरलाई नै ठूलो मान्ने भएकोले सरकारी जागिर खाने सोचमा थिएँ । बुवा भारतीय सेनामा केही वर्ष जागिर गरेकोले सेनातर्फ पनि मेरो रुचि थियो । तर वि.सं. २०५३ सालमा एसएलसी पास गरेपछि जागिरकै खोजीमा मैले बबई सिँचाइ आयोजनाको सुपरभाइजर भएर एक वर्ष जागिर गर्ने मौका पाएँ । त्यसपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कमैया साक्षरता अभियान सञ्चालन गरेको थियो । त्यसमा मेरो भिनाजु डिल्ली अधिकारीले जोडिदिनु भयो । कमैया बालबालिकाहरूलाई अनौपचारिक शिक्षा दिइ उनीहरूको क्षमता र उमेर अनुसार नौ महिना शिक्षा दिएपछि विद्यालयमा भर्ना गरिन्थ्यो ।

केही वर्ष कमैया साक्षरता अभियानमा काम गरेपछि मैले वि.सं. २०५५ सालमा इन्सेक बर्दिया जिल्लाको प्रतिनिधिको रूपमा काम गर्ने मौका पाएँ । त्यो बेलामा सदरमुकाम गुलरियामा बसेर काम गर्नुपथ्र्यो । दश वर्ष बर्दिया जिल्ला प्रतिनिधि भएर काम गर्दागर्दै मैले मेरो पढाइ पनि सँगसँगै अगाडि बढाएँ । गुलरियामा स्नातक तहसम्मको पढाइ मात्रै हुने भएकोले मैले पढ्नकै लागि बाँकेमा सरुवा मागें । त्यो बेलामा सरुवा गर्ने खासै प्रचलन थिएन । तर मलाई बाँकेको नेपालगन्ज मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा सरुवा दिइयो ।

महेन्द्र बहुमुखी क्याम्पसबाट मैले समाजशास्त्रबाट स्नातकोत्तर तहको शिक्षा प्राप्त गरेको छु । बाँके जिल्लामा समेत जिल्ला प्रतिनिधि, कार्यक्रम संयोजकको भूमिकामा मैले करिब दश वर्ष बिताएँ । देश संघीयतामा गएपछि वि.सं. २०७५ साउनबाट सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना भएका छन् । म इन्सेक कर्णाली प्रदेशको संयोजकको रूपमा काम गर्दै आएको छु । हामी मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाको प्रतिनिधि । दशवर्षे द्वन्द्व सुरु भएकै बेलाबाट मैले काम गर्न सुरु गरेको हुँ । हामीहरूले राज्य तथा विद्रोही पक्ष दुवैको कब्जामा रहेका, अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गर्ने र मृत्यु भएका व्यक्तिहरूको समेत रिपोर्ट राख्नुपर्ने हुन्थ्यो । रिपोर्टिङ्गको बेलामा खासै ठूलो समस्यामा त परिएन तर हामीमाथि धेरै केरकार हुन्थ्यो । एक पटक एकजना पीडितको घरमा रिपोर्टिङ्ग गरिरहेको बेलामा विद्रोही पक्षको तर्फबाट कसलाई सोधेर यो काम गर्दै छस् भन्दै धम्की आयो । मेरो क्यामेरा, कार्ड र डायरी लगियो । पछि उनीहरूकै माथिल्लो तहको व्यक्तिसम्म त्यो कुरा पुगेपछि सामग्री फिर्ता भयो ।

विद्रोही भनि मारिएका एक जनाको रिपोर्टिङ्ग गर्ने बेलामा राज्य पक्षबाट पनि समस्या भएको छ । लाश पूरै गाडिएको थियो । हामीलाई प्रमाण चाहिने, लाश खन्नलाई गाउँमा त्रासले कसैले पनि खन्न मानेनन् । अनि म आफैले गाउँबाट फरुवा मागेर लाश खनेर फोटो खिचेँ । त्यो बेलामा भने मलाई असाध्यै डर लाग्यो । गाउँनै यसरी त्रसित भएको बेलामा म आफैले लाश खनेर फोटो खिचेँ । कतै केही हुन्छ कि भन्ने डर लाग्यो तर केही भएन । यस्ता थुप्रै समस्याकाबीच काम गरियो ।

त्यो बेलामा आफ्नो ज्यानको डरभन्दा कब्जामा रहेका व्यक्तिको ज्यानको डर बढी लाग्थ्यो । त्यही कामले गर्दा पीडितका परिवारले गर्ने सम्मानले गर्दा पेसामा सन्तुष्टी मिल्छ । द्वन्द्वकालमा धेरैको उद्धार गरियो । विद्रोही भनी राज्यपक्षको तर्फबाट कब्जामा रहेका र राज्य पक्षको भनी विद्रोहीको कब्जामा रहेका धेरैको उद्धार गरियो । नामै लिनुपर्दा बाँकेमा एकजना अक्कलबहादुर बम हुनुहुन्छ । उहाँलाई राज्य पक्षले विद्रोही भनी धेरै पटक कब्जा गर्ने र छोड्ने गर्दो रहेछ । उहाँको उद्धार गरियो, उद्धारपछि परिवारले हामीहरूलाई भगवानकै रूपमा हेर्ने, त्यो देख्दा आफूले पाएका धम्की र दुःख बिर्सने रहेछ ।

द्वन्द्वको समयमा जोखिमपूर्ण पेसा भए पनि मेरो परिवारको तर्फबाट कहिल्यै पेसा छोड्ने दबाब आएन । बरु कसरी सुरक्षित हुने भन्ने विषयमा छलफल हुन्थ्यो । जीवन साथीबाट पनि उत्तिकै सहयोग पाएको छु । मैले शर्मिला सुवेदीसँग प्रेम विवाह गरे । उनी नेपाल सरकारको एचए हुन् । एक जना छोरा र एक जना छोरी छन् । उनको र मेरो पेसा फरक भए पनि एक अर्काको पेसाप्रति सधैं सम्मान रह्यो । तर दुवैजना पेसामा जोडिएपछि भने बालबच्चाको व्यवस्थापनमा अप्ठ्यारो हुँदो रहेछ । तर पनि हामीहरूले एक आपसमा समस्या समाधानतर्फ लाग्यौं । एकअर्काप्रति विश्वास भयो भने पेसाको कारणले पारिवारिक द्वन्द्व हुँदैन । जसले घर र कार्यालय राम्रोसँग चल्छ । अब अवकाशपछि गाउँमा गइ युवाहरूलाई व्यवसायतर्फ आकर्षण गर्ने गरी काम गर्न मन छ । गर्नको लागि स्वदेशमा थुप्रै अवसरहरू छन् । तर युवा जनशक्ति विदेशिएको देख्दा दुःख लाग्छ ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:२६