सगरमाथा र लालीगुरा“स अब तारा र ग्रहको नाम

काठमाडौं : संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु)ले एक तारा र त्यसलाई घुम्ने ग्रहको नाम सगरमाथा र लालीगुराँस राखेको छ । फ्रान्सस्थित पेरिसमा मंगलवार आइएयुले पत्रकार सम्मेलन गर्दै सय वर्ष पुगेको अवसर तारा र ग्रहको नामाकरण गरेको हो । यसअघि आइएयुले नेपालीहरूलाई एक–एक तारा र ग्रहको नाम राख्ने अवसर दिएको थियो । नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो । नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वान समेत गरेको थियो । सोसाइटीले गत अगष्ट ३१ सम्ममा ४७६ ग्रह र ताराका नाम सिफारिस भएका थिए । त्यसबाट सोसाइटीले पाँच–पाँच वटा नाम छनोट गरी आइएयूलाई बुझाएको थियो ।

सोसाइटीले गोर्खा, सगरमाथा, अरनिको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता १० वटा नाम पठाएको थियो । त्यसबाट पनि आइएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो । आईएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो । जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा (सगरमाथा) र त्यसलाई घुम्ने एचडी १००७७७ बी नामक ग्रह (लालीगुराँस) को नामाकरण गर्न दिइएको थियो । यी तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिने एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । ‘सगरमाथा र लालीगुराँस पृथ्वीभन्दा एक सय ७२ प्रकाश वर्ष टाढा रहेको छ’, अध्यक्ष भट्टराईले भने, ‘हामीले मध्यम वर्गको टेलिस्कोपबाट नेपालबाट ग्रह नदेखिए पनि तारा देख्न सक्छौं ।’ अब ती ग्रह र तारा सधैंभरी नेपाली नामबाट नै चिनिने अध्यक्ष भट्टराईले जानकारी दिए ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:२१