दैनिक पाँच घण्टा हिँडेर विद्यालय

जुम्ला : जुम्लाको तिला गाउँपालिकामा पर्ने घोडेमहादेव र मालिकाठाँटाका बालबालिकालाई विद्यालय जान दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । सडक सञ्जालमा नजोडिएका घोडेमहादेव र मालिकाठाटा साविकका दुई गाविस हुन् । साविकका यी दुई गाविसलाई संघीय संरचनाअनुसार चार वडामा विभाजन गरिएको छ । स्थानीय तहको निर्वाचनपछि तिला गाउँपालिकाको ६, ७, ८ र ९ नम्बर वडाका कतिपय गाउँ बस्तीसम्म सडकको ट्रयाक खनिएको छ । तर, रारालिहीस्थित तिला नदीमा पुल नबन्दा सवारीसाधन सञ्चालनमा आउन सकेको छैन ।

भौगोलिक विकटताका कारण चारवटा वडाका बालबालिकाले मावि कक्षामा पढ्न दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । गाउँमा देवलक्ष्मी आधारभूत विद्यालय मात्रै छ । जहाँ कक्षा आठसम्म मात्रै पढाइ हुन्छ । गाउँमा मावि तहको विद्यालय नहुँदा कक्षा नौदेखि माथिका बालबालिका अध्ययनका लागि पाँच घण्टा टाढा घोडेगाउँमा रहेको जनजागृति मावि जाने गरेका छन् । ‘तिला गाउँपालिकाको ६ र ७ नम्बर वडामा एउटा मात्र मावि छ,’ देवलक्ष्मी आधारभूत विद्यालय सुडीगाउँका प्रधानाध्यापक झुपे रावतले भने, ‘घोडेसिम, पोख्री, रिपी, सुडी र घोडेगाउँ गरी पाँच गाउँका बालबालिका मावि तहको पढाइका लागि जनजागृति मावि जाने गरेका छन् । घोडेसिम र सुडी गाउँका बालबालिकालाई विद्यालय जान आउन पाँच घण्टा लाग्छ ।’

घरबाट विद्यालय निकै टाढा भएकाले बालबालिका नियमित विद्यालय जान सक्दैनन् । यहाँका विद्यार्थीको हाजिर वर्षमा ३० प्रतिशत मात्र हुने गरेको प्रधानाध्यापक रावतले बताए । सुडीगाउँबाट लेक काटेर जंगलको बाटो हुँदै घोडेगाउँ पुग्नुपर्छ । असार, साउन, भदौजस्ता वर्षात्को बेला अधिकांश बालबालिका विद्यालय जाँदैनन् । जाडोका पुस, माघ, फागुनजस्ता महिनामा पनि विद्यालय जान समस्या हुने गरेको कक्षा १० की विद्यार्थी सिर्जना रावतले बताइन् । ‘जंगलको बाटो लेक काटेर जाँदा जंगली जनावर र गलत नियत भएका मान्छेको डर हुन्छ,’ रावतले भनिन्, ‘हामीलाई कक्षा आठदेखि माथि अध्ययन गर्न निकै गाह्रो छ ।’

घोडेसिम, रिपी र सुडीगाउँका आधाजसो बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन् । पढ्नको लागि निकै टाढाको विद्यालय जानुपर्दा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका हुन् । गाउँमा कक्षा ८ पास गरेका झण्डै आधा बालबालिका माथिल्लो तहमा भर्ना हुँदैनन् । सुडीस्थित देवलक्ष्मी आधारभूत विद्यालयबाट वर्षेनी करिब २५ जना बालबालिकाले कक्षा आठ उत्तीर्ण गर्छन् । तर, कक्षा १० को एसइई परीक्षा दिने विद्यार्थीको संख्या भने ८–१० जना मात्र हुने गरेको प्रअ रावतले बताए । स्थानीयले रिपी, सुडी र ढिपु गाउँका लागि तिला गाउँपालिका–९ मानेचौरमा माध्यमिक विद्यालय सञ्चालन गर्न माग गर्दै आएका छन् । यस विषयमा स्थानीयले गाउँपालिकालाई पटक–पटक दबाबसमेत दिएको प्रधानाध्यापक रावतको भनाइ छ । तर, अहिलेसम्म गाउँपालिकाले भने गाउँमै विद्यालय सञ्चालन गर्ने विषयमा आवश्यक तयारी गरेको छैन ।