पैसाले पछि पार्छ महिलालाई

करिश्मा चौधरी,
सुर्खेत : दोस्रो संविधानसभाको निर्वाचनमा सीता नेपाली समानुपातिकबाट सभासद थिइन् । प्रदेशसभाको निर्वाचन हुने भएपछि उनी निकै उत्साहित थिइन् । कारण थियो अब प्रत्यक्षबाटै निर्वाचनमा प्रतिस्पर्धा गर्ने । तर उनले पार्टीबाट टिकट पाइनन् । अन्ततः प्रदेशसभामा पनि समानुपातिकमै बस्न बाध्य भइन् । निर्वाचनमा पार्टीबाट टिकट पाउनै मुस्किल महिलालाई अहिलेको खर्चिलो निर्वाचनले झनै समस्या थपेको सांसद नेपालीको अनुभव छ । यद्यपि निर्वाचनमा पैसा खर्च गर्नै पर्ने भए पनि पैसा मात्रै सबथोक नभएको उनी स्वीकार गर्छिन् । ‘निर्वाचन लड्नका लागि सबैभन्दा महत्वपूर्ण उम्मेदारको दक्षता, इमान्दारिता र हिम्मत हो’ उनले भनिन्, ‘यी सबै क्षमता हुँदाहुँदै पनि पैसाले फरक त पार्छ नै ।’

तीन दशकदेखि राजनीतिमा सक्रिय सुर्खेतकी अनिता कोइरालाले पितृसत्तात्मक सोचका कारण धेरैजसो महिलाले निर्वाचनमा भाग लिन नपाएको बताइन् । संविधानसभाको निर्वाचनमा प्रत्यक्षवाट चुनाव लड्न उनले धेरै प्रयत्न गरिन् । तर पार्टीले टिकटै दिएन । सबै पार्टीभित्र पितृसत्तात्मक सोच भएका पुरुषको हालीमुहाली रहेकै कारण कुनै पनि पार्टीले महिलालाई सजिलै टिकट नदिने गरेको उनले बताइन् । ‘महिलालाई निर्वाचनमा उठ्न र जित्नका लागि आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक कारणहरू बाधक बनिदिँदारहेछन् ।’ उनले भनिन्, ‘पार्टीबाट निर्वाचनमा टिकट पाउन राजनीतिक कारण बाधक बन्छ र निर्वाचन जित्न आर्थिक कारण ।’ पार्टीले पैसा नहुनेलाई टिकट दिन्न भन्ने कुुरा सय प्रतिशत सही होइन । तर गलत पनि भन्न नमिल्ने कोइरालाको भनाइ छ । ‘तिमीसँग पैसा छैन, तिम्लाई टिकट दिइन्न भनेर ठाडैं भन्ने होइन । तर पैसा नभएकै कारण कतिपय महिलाले उम्मेदवारी दिन नपाएको अनौपचारिक रूपमा सुनिन्छ’ उनले सुनाइन् ।

सुर्खेतबाट प्रदेशसभा सदस्य राजु नेपाली महिलाहरू क्षमतावान हुँदाहुँदै पनि आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर नपाएको बताउँछिन् । पुरुषप्रधान समाजको असर महिलाहरूले पाइला पाइलामा भोग्नु परिरहेको उनको बुझाइ छ । राजुको बुझाइमा पार्टीले मात्रै महिलालाई अवसर नदिएका होइनन्, जनताले पनि महिलालाई विश्वास गरेका छैनन् । जसका कारण कर्णाली जस्तो ठाउँमा महिलाहरूलाई अगाडि बढ्न र नेतृत्व लिन मुस्किल छ । हुम्ला क्षेत्र नम्बर २ बाट प्रदेशसभा सांसद जीवनबहादुर शाही अहिलेको निर्वाचन प्रक्रिया नै निकै खर्चिलो भएको बताउँछन् । उनले महिलालाई मात्रै नभएर पुरुषलाई पनि निर्वाचन खर्च धान्न गाह्रो हुने गरेको बताए । उनले भने, ‘विद्यमान निर्वाचन प्रक्रियाले महिला र पुरुष दुवैलाई प्रभाव पारे पनि सम्पत्तिमा महिलाको स्वामित्व र अधिकार कम भएका कारण महिलाहरू बढी प्रभावित भएका हुन् ।’ नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर २ का सह–सभापति नारायण कोइरालाले निर्वाचनमा पैसाको प्रयोग विकराल बन्दै गएको बताए । तोकिएको भन्दा बढी रकम खर्च नगर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बनाए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनी बताउँछन् । ‘निर्वाचनमा देखिने भन्दा नदेखिने खर्च धेरै भइरहेको पाइन्छ’ उनले भने, ‘यसले गर्दा स्रोतमा नियन्त्रण कम भएका महिलाहरूलाई निर्वाचन लड्नु निकै चुनौतीपूर्ण छ ।’

करिब दुई दशकदेखि सक्रिय राजनीतिमा रहेकी सुर्खेतकी लक्ष्मी शर्मा महिलालाई हेर्ने दृष्टिकोण फरक भएका कारण अहिले पनि राजनीतिमा महिलाको सहभागिता समान हुन नसकेको बताउँछिन् । ‘महिलालाई आन्दोलनमा, भाषणमा, नियममा मात्रै समान व्यवहार गरिएको छ, अधिकार दिँदा समान हुन सकेको छैन’ उनले भनिन्, ‘महिला आत्मनिर्भर र आर्थिक रूपमा अधिकार सम्पन्न नहुँदासम्म राजनीतिमा समान हुन, नेतृत्व पाउन गाह्रो छ ।’ प्रदेशसभा सदस्य पद्मा खड्का पनि पार्टीमा महिलालाई प्रत्यक्षमा टिकट पाउन मुस्किल रहेको बताउँछिन् । महिलाहरूमा क्षमता, दक्षता हुँदाहुँदै पनि पार्टीले प्रत्यक्ष उम्मेदवारमा उठाउन हिच्किचाउने गरेको उनको भनाइ छ । एकाधबाहेक अन्य महिलालाई निर्वाचन लड्न गाह्रो छ । महिलाको आर्थिक अवस्था बलियो नहुँदा निर्वाचनको बेला खुम्चिएर बस्नुपर्ने बाध्यता रहने उनले बताइन् । कर्णाली प्रदेशका उप–सभामुख पुष्पा घर्ती विष्ट महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने बताउँछिन् । ‘अहिलेको चुनाव खर्चिलो छ । महिलाहरू सबैभन्दा पहिला आर्थिक रूपमा सक्षम हुन आवश्यक छ’ उनले भनिन्, ‘आर्थिक रूपमा अधिकार सम्पन्न भएर महिलाहरूले क्षमता विकास गरे मात्रै राजनीतिमा समान सहभागिता हुन सक्छ ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन कमलेश डिसी महिलाहरूको आर्थिक, राजनीतिक, सामाजिक अवस्था कमजोर भएका कारण पुरुष जत्तिकै समान अवसर दिनुपर्ने बताउँछन् । ‘कुनै पनि पार्टीले महिलाको आर्थिक अवस्था नहेरेर उनको क्षमता, दक्षता र इमान्दारिता हेर्न जरुरी छ । दक्षता हेरेर पार्टीले त्यसै अनुरूपको साथ दिए महिलाहरू सहजै निर्वाचन लड्न सक्छन् ।’ अधिवक्ता गीता कोइराला सम्पत्तिको पूर्ण मालिक नभएसम्म अहिलेकै परिपाटीमा महिलाहरूलाई निर्वाचन लड्न निकै चुनौतीपूर्ण छ भन्छिन् । तर मतदाताले यदि पैसाको लोभ र झूठा नेताहरूको प्रभावमा नपर्ने हो भनेचाहिँ महिलाहरूलाई जित्न सजिलो हुने उनको बुझाइ छ ।

पत्रकार महासंघ कर्णाली प्रदेशकी उपाध्यक्ष डम्मर आचार्य सबैभन्दा पहिले त महिलाको सम्पत्तिमा पूर्ण स्वामित्व हुन आवश्यक रहेको बताउँछिन् । त्यसका साथै महिलाहरूले आफ्नो मनोबल उच्च बनाएर यो वा त्यो बहानामा महिलालाई चुनाव लड्नबाट वञ्चित गर्ने पार्टी नेता विरुद्ध विद्रोह पनि गर्न सक्ने हैसियत बनाउन जरुरी रहेको उनी औंल्याउँछिन् । त्यसो हुन सकेमात्रै महिलाहरू पनि आफ्नो अस्तित्वका लागि छोड्नेवाला छैनन् भन्ने डर नेतृत्वलाई हुने उनको भनाइ छ । अधिकारकर्मी तथा अधिवक्ता गीता कोइराला सम्पत्तिको पूर्ण मालिक नभएसम्म अहिलेकै परिपाटीमा महिलाहरूलाई निर्वाचन लड्न निकै चुनौतीपूर्ण छ भन्छिन् । तर मतदाताले यदि पैसाको लोभ र झुठा नेताहरूको प्रभावमा नपर्ने हो भने–चाहिँ महिलाहरूलाई जित्न सजिलो हुने उनको बुझाइ छ ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतकी निर्वाचन अधिकारी निर्मला रेग्मी निर्वाचनमा उम्मेदवारले कति खर्च गरे भन्ने कुराको अनुगमन आफूहरूले गर्ने गरेको र आचारसंहिता बमोजिम नै दलहरूले खर्च गरेको पाएको बताउँछिन् । ‘हामीसम्म आउने कागजातकै आधारमा भन्ने हो, त्यसमा तोकिए बमोजिमकै खर्च मात्रै उल्लेख हुन्छ’ उनले भनिन् ‘प्रमाण नहुँदा हामीले नि भन्न मिलेन ।’ संविधानले महिलालाई सम्पत्तिको समान हक दिएको छ । तर, व्यवहारमा त्यो अझै पनि लागू भएको पाइदैन । महिलालाई हरेक क्षेत्रमा समान बनाउन आर्थिक समानताको आवश्यकता छ । छोरा र छोरीबीच पैतृक सम्पत्तिको समान हक भए पनि व्यवहारमा लागू हुन नसक्दा महिलाहरूले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु परेको छ । यस्ता अनेक समस्या र कठिनाइका बाबजुत महिलाहरूले निर्वाचनमा प्रत्यक्ष सहभागिता जनाउन सक्दैनन् । अधिकारकर्मी कोइराला सम्पत्तिमा स्वामित्वसँगै महिलालाई राजनीतिक दल, समाज र मतदाताले विश्वास गर्न सके मात्रै उनीहरूले राजनीतिमा समान सहभागिता जनाउन सक्ने बताउँछिन् । (महिलाखबरबाट)