समाधान भएन कांग्रेसभित्रको विवाद
काठमाडौं : नेता रामचन्द्र पौडेल पक्ष नआएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा सोमवार दिउँसो १ बजे बोलाइएको बैठक पार्टीभित्र देखिएको विवाद समाधानउन्मुख देखिएकाले बुधवारसम्म स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
‘पार्टीभित्रको विवाद समाधानका लागि भएका छलफल सकारात्मक देखिएका छन् । ठोस सहमति जुटाउन नेताहरूलाई समय दिन बुधवार दिउँसो १ बजेसम्म केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ,’ प्रवक्ता शर्माले भने । पौडेलपक्षले १४औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमति वेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पु¥याउने प्रस्ताव गर्न लागेको, भ्रातृसंस्था नेविसंघ र तरुण दलका महाधिवेशन आयोजक समिति बनाउने सहमति नखोजेको भन्दै बैठक बहिस्कार गर्दै आएको छ ।
यसअघि पौडेल पक्षले बिहीवार र आइतवारको बैठक बहिस्कार गरेको थियो । पौडेल पक्ष भने आफ्नो समूहको रणनीति तय गर्न अहिले नेता पौडेल निवास बोहोराटारमा छलफल गरिरहेको छ । देउवा पक्षले सहमति नजिक पुगेको दावी गरेपनि त्यसो नभएको बुझिएको छ । पौडेल समूहले अघि सारेका मागहरू तत्काल सम्बोधन नहुने संकेत देखिएको छ । संस्थापन पक्ष अघिल्लो कार्यसमिति बैठकले सर्वसम्मत् ढङ्गले गरेको निर्णयमा टेकेर पौडेल समूहलाई गलाउने रणनीतिमा छ । विवाद समाधानका लागि गत शनिवारबाट भइरहेका छलफलमा पौडेल समूहले जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनको कार्यतालिका एजेण्डामा आउनुपर्ने माग प्रमुख रूपमा उठाइरहेको छ । तर, संस्थापन पक्ष भने अघिल्लो कार्यसमिति बैठकको निर्णय देखाएर जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिकाको विषय एजेण्डाको रूपमा नल्याउने मनस्थितिमा छ । बिहीवारबाट सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिकालाई एजेण्डाका रूपमा पेस गर्न नमानेपछि पौडेल समूह केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएको छ ।
यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका अन्तरिम संरचनाहरू निर्माणपछि मात्रै महाधिवेशनको कार्यतालिका बनाउने निर्णय सर्वसम्मत् पारित गरेको थियो । पौडेल समूहकै सहमतिमा उक्त निर्णय भएको र पार्टीको केन्द्रीय निर्वाचन समितिले संघीय संरचनाअनुसार अन्तरिम संरचना निर्माणको काम सम्पन्न गरिनसकेको भन्दै संस्थापन पक्ष तत्कालै कार्यतालिकाको विषयलाई एजेण्डाका रूपमा ल्याउन अनिच्छुक देखिएको छ । संस्थापन पक्षले अन्तरिम संरचना निर्माणको काम सम्पन्न भएपछि मात्रै आगामी महाधिवेशनको कार्यतालिकाको विषयले एजेण्डाका रूपमा केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउने जनाएको छ ।
प्रकाशित मितिः १ पुष २०७६, मंगलवार ०९:१८
साझा बिसौनी ।