वृत्तचित्रमार्फत् कर्णालीको विरोध

बिसौनी संवाददाता
सुर्खेत, १८ चैत ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने निर्णयको विरोधमा बनाइएको वृतचित्र बिहीवार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । माथिल्लो कर्णाली बचाऔं अभियानले बिहीवार बिहान सुर्खेत क्याम्पस शिक्षा र साँझ वीरेन्द्रचौकमा उक्त वृत्तचित्र प्रदर्शन गरेको हो ।
भारतीय निर्माण कम्पनी जीएमआरसँग गरिएको माथिल्लो कर्णाली निर्माण सम्झौताको विरोधमा जनतालाई एकत्रित गर्ने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिएको हो । शिक्षा क्याम्पसमा आयोजित अन्तरक्रिया तथा वृत्तचित्र प्रदर्शन कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय अध्यक्ष भरतबहादुर शाहीले कुनै पनि हालतमा जीएमआरसँगको सम्झौता खारेज हुनुपर्ने बताए । उनले उक्त सम्झौता देश र जनताको हितमा नभएकाले त्यसको खारेजीको विकल्प नभएको बताए ।
अभियानका कोषाध्यक्ष बालकृष्ण सुनारले राष्ट्रघाती उक्त सम्झौता खारेजका लागि जनताहरू जागरुक भएर दबाब दिनुपर्ने बताए । उनले राष्ट्रको हितविपरित माथिल्लो कर्णाली भारतलाई सुम्पिन लागिएको भन्दै त्यसका विरुद्ध उठ्न सबैलाई आव्हान गरे । स्वदेशी लगानीमा नै उक्त आयोजना निर्माण गर्न सकिने भन्दै सुनारले जीएमआरसँगको सम्झौता
तत्काल खारेज गरेर सरकारकै लगानीमा निर्माण कार्य सञ्चालन गर्न अनुरोध समेत गरे ।
‘राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौता खारेज गरौं, स्वदेशी लगानीमा निर्माण गरौं’ भन्ने नाराका साथ अभियानले प्रभावित क्षेत्रका विभिन्न जिल्लाहरूमा अन्तरक्रिया तथा वृत्तचित्र प्रदर्शन गर्दै आएको छ । यसअघि दैलेख र कालिकोटमा समेत वृतचित्र प्रदर्शन भइसकेको कोषाध्यक्ष सुनारले जानकारी दिए । राष्ट्रघाती सम्झौताको बारेमा जनतालाई जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।

प्रकाशित मितिः   १९ चैत्र २०७२, शुक्रबार ०६:४५