विपद् व्यवस्थापनमा चासो

बिसौनी संवाददाता
सुर्खेत, १८ चैत ।
डेढ वर्ष पहिला साउनमा आएको बाढी र पहिरोले ठूलो मात्रामा धनजनको क्षति गरेपछि सुर्खेतमा विपद् व्यवस्थापनको बारेमा चासो गर्न थालिएको छ । दैवीप्रकोपबाट हुने क्षतिबाट जोगिने र त्यसलाई व्यवस्थापन गर्ने उपायको बारेमा समेत खोजी गर्न थालिएको छ । सरोकारवालाहरूले विपद्बाट बच्नका लागि सबैको सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।
सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको अनुकूलन परियोजना अन्तर्गत पूर्व चेतावनी प्रणाली सम्बन्धी बिहीवार वीरेन्द्रनगरमा सम्पन्न कार्यशालामा सहभागी सरोकारवालाहरूले जिल्लामा हुने विपद् व्यवस्थापनका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । स्थानीयस्तरमा कुनै पनि बेलामा प्राकृतिक विपद्हरू हुन सक्ने भन्दै उनीहरूले त्यसको सूचना समयमा नै प्रवाह हुनुपर्नेमा जोड दिएका छन् । साथै उनीहरूले विपद्पछिको उद्धार र राहतका लागि आवश्यक सहयोग गर्नका लागि छुट्टै संयन्त्र गठन हुनुपर्ने बताएका छन् ।
उक्त कार्यशालामा विपद्बाट जोगिने उपाय र उद्धारमा अपनाउन सकिने उपायको बारेमा समेत छलफल भएको छ । सो अवसरमा विपद्पछिको उद्धार, राहत र सूचना प्रवाहको बारेमा कसरी समन्वय गर्ने भन्ने विषयमा सहभागीहरूले विभिन्न सुझावहरू दिएका छन् । संस्थाका कार्यक्रम संयोजक भुपेन्द्र कँडेलले विपद्को बेलामा सूचनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सुझाव सङ्कलन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा विपद् जोखिम न्यूनीकरण विशेषज्ञ दिनेशचन्द्र 
जोशीले सहजीकरण गरेका थिए । विपद्बाट बच्नका लागि स्थानीय तथा जिल्लास्तरमा अपनाउन सकिने पूर्व तयारीहरूको बारेमा सुझावहरू सङ्कलन गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः   १९ चैत्र २०७२, शुक्रबार ०६:५२