हिमपातबाट एकको मृत्यु
जुम्ला : हिमपातका कारण जुम्लामा एक जनाको मृत्यु भएको छ । पाटनदेखि सेतो चिनी लिएर फर्किदैं गरेका एक खच्चर गुवाला (गोठाला)को मृत्यु भएको हो । तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याँग्रिएर तिला गाउँपालिका–९ का वीनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको तिला गाउँपालिका–९ का वडा अध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतक बोहोरासँगैका चारजना खच्चर गुवाला सकुशल फर्केका छन् ।
यसैबीच बिहीवार जडिबुटी संकलनका लागि पाटनतिर गएका १२ जना सम्पर्कविहीन भएका छन् । तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका हुन् । जडिबुटी संकलनका लागि गएकाहरूसँग सम्पर्क हुन नसकेको वडा अध्यक्ष बोहोराले बताए । जडिबुटी संकलनमा चारजना महिला र ६ जना पुरुष सहभागी थिए । उनका अनुसार सम्पर्कविहीन हुनेमा तिला–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका रहेका छन् । वडा अध्यक्ष बोहोराका अनुसार उद्धारको लागि पहल गरीदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले सम्पर्कविहीन भएकाहरूको उद्धारको लागि गृह मन्त्रालयलाई सूचना गर्ने तयारी गरिएको छ । उनले भने, ‘यो निकै दुःखद् पक्ष हो । उद्धारका लागि सम्बन्धित निकायलाई पत्र पठाउँदैछौं ।’
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गर्दै आफू पनि उद्धारको लागि गृह मन्त्रालयसँग आग्रह गर्ने जानकारी दिए । गाउँमै झण्डै दुई फिटसम्म हिउँ जमेको छ । पाटनमा हिउँ धेरै परेको हुन सक्ने भन्दै सम्पर्कविहीन भएकाका आफन्तहरूले तत्काल उद्धार गरीदिन सरकारसमक्ष माग गरेका हुन् ।
साझा बिसौनी ।