छोरी बैंक खाता कार्यक्रम

कालिकोटबाट शुभारम्भ हुने

सुर्खेत : ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम कालिकोटबाट शुभारम्भ गरिने भएको छ । पुस १ गते कालिकोटबाट शुभारम्भ गरेर प्रदेशभर सञ्चालन गर्ने तयारी कर्णाली प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले यो कार्यक्रम घोषणा गरेको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि सरकारले हालै मात्र कार्यविधि तयार पारेको छ । कार्यविधि अनुसार गत साउनयता कर्णालीमा जन्मिएका छोरीलाई सरकारले यस कार्यक्रममा आवद्ध गराउनेछ ।

यसका लागि बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । आफ्नो बुवा–आमा हुनेले बुवा–आमाबाटै र नहुनेले आश्रित संघ–संस्था वा संरक्षकले छोरीको खाता खोलिदिनु पर्ने गरी कार्यविधि बनाइएको छ । यो सुविधा एक दम्पत्तीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने संख्याको सीमा राखिएको छैन ।

मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशमा छोरीहरूमाथि हुने असमान व्यवहार हटाउने यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा कर्णाली सरकारको छ । १ साउनयता जन्मिएका छोरीका अभिभावकले स्थानीय तहमा निवेदन दिएपछि सम्बन्धित स्थानीय तहले प्राप्त निवेदन र कागजातको जाँचबुझ गरी सेवा प्रदायक संस्था (कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहमा शाखा कार्यालय रहेको वाणिज्य बैंक वा स्थानीय तहले बैंकिङ कारोबार गरिरहेको बैंक) मा सिफारिस गर्नुपर्ने प्रावधान बनाइएको छ ।

सिफारिस भएर आएको निवेदन अनुसार सेवा प्रदायक संस्थाले नियमअनुसार बैंकले खाता खोलिदिनेछन् । खोलिएको खाताको जानकारी स्थानीय तह र ग्राहक दुवैलाई गराउने गरी कार्यविधि बनाइएको छ । छोरीको उक्त खातामा प्रदेश सरकारले सुरुमै १ हजार रूपैयाँ ब्यालेन्स राखिदिनेछ । त्यसपछि हरेक महिना ५ सय रूपैयाँका दरले प्रदेश सरकार आफैले रकम डिपोजिट गरिदिनेछ । यो रकम प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सकिने गरी प्रावधान राखिएको छ ।

प्रकाशित मितिः   ३० मंसिर २०७६, सोमबार ०९:२९