२२ जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत : शनिवार प्रहरी जवान पदका लागि लोक सेवा आयोगले लिएको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको प्रवेश–पत्रमा आफ्नो फोटो टाँस गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार नक्कली परीक्षार्थीको रूपमा पक्राउ पर्ने २२ जना अनुसन्धानकै क्रममा रहेका छन् । वीरेन्द्रनगरको इगरब्रिज सेकेण्डरी स्कूल, सुर्खेत शिक्षा क्याम्पस र श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेको उनले बताए ।

‘हामीले तीनवटै परीक्षा केन्द्रबाट २२ जना नक्कली परीक्षार्थी पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘तीमध्ये कोही पैसा लिएर वा कोही आफन्तको परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ परीक्षा दिने सबै पुरुष रहेको पन्तले बताए । थप अनुसन्धानका लागि पक्राउ परेको नक्कली परीक्षार्थी हिरासतमा रहेको उनले बताए  । प्रहरी जवान पदका लागि आयोगले लिएको परीक्षामा सुर्खेतलगायत अन्य जिल्लाका परीक्षार्थी गरी करिब तीन हजार तीन सयले शनिवार परीक्षा दिएका थिए ।