विद्युत नहुँदा मोबाइलको भरमा सुत्केरी
डोल्पा : दुर्गमका गर्भवती महिलालाई स्वास्थ्यकेन्द्रमै सुत्केरी गराउने उद्देश्यले प्रसूति केन्द्र स्थापना गरिए पनि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्यचौकीमा रहेको प्रसूति केन्द्रमा बत्तीको व्यवस्था नहुँदा मोबाइलको उज्यालोको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको कार्यरत स्वास्थकर्मीहरूको भनाइ छ । यस वर्ष साउनयता मात्रै १६ जना सुत्केरीले प्रसूति सेवा लिएको केन्द्रमा मोबाइलको उज्यालोकै भरमा सुत्केरी गराइएको स्वास्थ्यचौकीका इञ्चार्ज तुलबहादुर श्रेष्ठले बताए । सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशील कामको लागि उज्यालो र न्यानो ठाउँको आवश्यकता पर्ने भए पनि स्वास्थ्यचौकीमा बत्तिकोसमेत व्यवस्था छैन ।
स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले राम्रो हुने ठानेर स्वास्थ्यचौकीमा सुत्केरी हुन गए पनि उज्यालोको व्यवस्थाविना नै सुत्केरी हुनु परेको त्रिपुरासुन्दरी–२ रूमकी नरचन्द्रा थापाले बताइन् । एक साता अघिमात्रै स्वास्थ्यकर्मीको मोबाइलको उज्यालोको भरमा सुत्केरी भएकी थापाको मृत बच्चा जन्मिएको थियो । स्वास्थ्यचौकीमा विद्युतको उज्यालोको व्यवस्था नहुँदा कहिले स्वास्थ्यकर्मीको मोबाइल त कहीले सेवाग्राहीले ल्याएको टर्चको उज्यालोमा स्वास्थ्यचौकीले सेवा दिइरहेको स्थानीयको भनाइ छ ।
बिरामी र आफन्तले स्वास्थ्यचौकीमा भरपर्दो बिजुली तथा तालिमप्राप्त स्वास्थकर्मीको समेत माग गर्ने गरेका छन् । चिसोमा सुत्केरीका लागि हिटर लगायतका उपकरण प्रयोग गर्नुपर्ने भए पनि बिजुली नहुँदा समस्या भएको इञ्चार्ज श्रेष्ठले बताए । दुई वर्षको ग्यारेण्टी दिएको सोलार पनि जडानको केही समय लगत्तै बिग्रिएपछि उज्यालोका लागि अन्य वैकल्पिक उपाय समेत नभएको इञ्चार्ज श्रेष्ठको भनाइ छ । यस्तै जिल्लामा रहेका स्वास्थ्यचौकीहरूमा दक्ष अनमी नहुँदा करारका कर्मचारीहरूले नै सेवा प्रदान गर्ने गरेको स्थानीयहरूको भनाइ छ । प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ्यचौकीमा एक जना तालिम प्राप्त अनमी अनिवार्य हुनुपर्ने भए पनि स्वास्थ्य चौकीहरूमा सुत्केरी तालिम नलिएका अनमीले सुत्केरी सेवा उपलब्ध गराउँदै आएका छन् । नगरपालिकाले करारमा भए पनि तालिम प्राप्त अनमी भर्ना गर्नुपर्ने र सो को लागि माग गरिएको स्वास्थ्य चौकीका इञ्चार्ज श्रेष्ठले बताए ।
दुई जना स्थायी अनमी दरबन्दी रहेको त्रिपुराकोट स्वास्थ्यचौकीमा हाल एक जना प्रसूति तालिम नलिएकी करार अनमी र एक जना मासिका कार्यरत छन् । समायोजनपछि स्वास्थ्यकेन्द्रमा करारमा अनमी आए पनि तालिम प्राप्त र स्थायी अनमी अझै नआएको स्वास्थ्यचौकीले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु, पहाडा, सुँ र त्रिपुराकोटसहितका पाँच ओटा स्वास्थ्यचौकीमध्ये चारओटा स्वास्थ्यचौकीमा रहेका प्रसूति केन्द्र सञ्चालनमा रहेका छन् । फुल्चिङ्ग स्वास्थ्यचौकीमा भने प्रसूति केन्द्र सञ्चालनको लागि आवश्यक उपकरणसहितका सामग्रीहरू पठाइए पनि सञ्चालनमा नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १४:०६
साझा बिसौनी ।