जोखिममा यात्रु

विकासको गतिसँगै सडकको व्यस्तता पनि बढेको छ । पैदल यात्रीको चाप होस् या सवारी साधनको चाप दिनप्रति दिन बढ्दो छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक पनि पछिल्लो समय बढी व्यस्त भएको छ । सडकमा जति चाप बढ्दो जोखिम पनि त्यति नै बढ्दै जान्छ । तर समयमै सुरक्षामा ध्यान दिन सकेको खण्डमा जोखिम न्युनिकरण गर्न सकिन्छ । तर सुर्खेतमा भने सडक सुरक्षाको अवस्था चिन्ताजनक छ ।

साँघुरा र खाल्डाखुल्डीले भरिएका सडक । त्यसमाथि अनियन्त्रित रुपमा गुड्ने सवारी साधन । चाहे सवारी साधन चालक हुन् या त पैदल हिड्ने यात्रु कसैले पनि सडक सुरक्षामा ध्यान दिएको पाइदैन । ट्राफिक नियम उल्लंघन गरिरहेका छन् । त्यसो त वीरेन्द्रनगरमा आवश्यक ट्राफिक चिन्हहरु नै छैनन् । सडकबत्ति छैनन् । कहिकतै जेब्राक्रस बनाइएको छ । तर त्यसको पनि उचित प्रयोग भइको पाइदैन । नियम कार्यान्वयनका लागि सम्बन्धित निकायले पनि पर्याप्त ध्यान दिएका छैनन् । जसले गर्दा सडकमा दुर्घटनाको जोखिम अत्यधिक छ । जोखिम मात्रै होइन दुर्घटना पनि भइरहेकै छन् ।

सडक सुरक्षाका दृष्टिले जेब्राक्रस अपरिहार्य मानिन्छ । व्यस्त सडकको बीचमा यात्रुलाई सडक पार गर्न सहजताको लागि जेब्राक्रस निर्माण गरिएको हो । जुन जेब्राक्रसबाड पैदल हिड्नेहरुले बाटो वारपार गर्नेगर्दछन् । जस्तोसुकै व्यस्त सडकमा पनि जेब्राक्रस भएको स्थानमा सवारी चालकहरुले गति सुस्त गर्नेदेखि यात्रु हिडिरहेको बेला गाडी रोक्नुपर्दछ । दुर्घटनालाई कम गर्न यसले मद्दत गर्छ । तर वीरेन्द्रनगरका सडकमा भने बनाइएका जेब्राक्रस प्रयोग नै भइरहेका छैनन् । कतिपयले जेब्राक्रसको बारेमा समेत थाहा छैन । यदी पैदल यात्रुहरुलाई जेब्राक्रसको बारे जानकारी छैन भने उनीहरुलाई जानकारी दिनुपर्दछ । यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि स्थानीय तहहरु पनि जिम्मेवार हुनुपर्ने हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ मा आवागमन नियन्त्रण सम्बन्धी व्यवस्था रहेको छ । ऐनको दफा १३७ मा निर्धारित ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था समेत रहेको छ । जसमा जेब्राक्रस, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएका ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था रहेको छ । ट्राफिक संकेतको उल्लंघन गरेको खण्डमा ऐनको दफा १६४ बमोजिम सजाय हुने व्यवस्था छ । तर यति हुँदाहुँदै पनि कर्णाली प्रदेशको राजधानीमा भने न नियम कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार पारिएको छ न नागरिकलाई जनेचतना अभिवृद्धि गरिएको छ । जसले गर्दा सडक सुविधा मात्र होइन जोखिम पनि बनेका छन् ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १४:०२